न्यू योर्क। दक्षिण कोरियाका राष्ट्रपति युन सक यलमाथि महाअभियोग लागेको छ। त्यहाँको नेसनल एसेम्ब्लीले स्थानीय समय अनुसार २०४ भोटले महाअभियोग पारित गरेको छ।
महाअभियोग पारित भएसँगै उनी राष्ट्रपति पदबाट निलम्वित भएका छन्। त्यससँगै दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सुले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन्। दक्षिण कोरियामा राष्ट्रपछि पछिको वरियतक्रममा प्रधानमन्त्री रहने ब्यबस्था छ। राष्ट्रपति युनको पक्षमा नेसनल एसेम्ब्लीमा जम्मा ८५ जनाले भोट दिएका थिए।
युनले डिसेम्बर ३ को राति ११ बजे मार्शल ल लागू गरेका थिए। मार्शल ल लागू हुने बित्तिकै दक्षिण कोरियाको सेना परिचालित भएको थियो। चर्को जनविरोध र नेसनल एसेम्बलीमा प्रवेश गर्न भ्याएका विधायकहरुले विरुद्धमा मतदान गरेपछि उनको मार्शल ल मुश्किलले एक दिन टिकेको थियो।
महाअभियोग पारित भएसँगै युनको राजनितिक भविष्य अन्यौलमा परेको छ। दक्षिण कोरियाको संवैधानिक अदालतलाई नेशनल एसेम्ब्लीबाट पारित महाअभियोग पुनरावलोकन अधिकार हुन्छ। संवैधानिक अदालतले १८० दिनभित्र महाअभियोगको पक्ष वा विपक्षमा निर्णय दिनुपर्छ। संवैधानिक अदालतले महाअभियोगको विपक्षमा निर्णय गरेर उनलाई पुनः स्थापित गर्न सक्छ।
राष्ट्रपति युन विरुद्ध निर्वाचनमा हस्तक्षेप गरेको आरोप छ। घुसखोरी र शेयर बजारमा गैरकानूनी प्रभाव पारेको अभियोगको छानबिनबाट दक्षिण कोरियाकी प्रथम महिलालाई जोगाउन युनले भिटो प्रयोग गरि स्पेसल इन्भेस्टिगेसन गराउने निर्णय गरेका थिए। युनको उक्त भिटो पनि डेमोक्रेटिक पार्टीले एसेम्ब्लीबाट उल्ट्याउन खोजेको थियो। साथै, डेमोक्रेटिक पार्टीले युनलाई निस्प्रभावी बनाउने गरि बजेटमा कटौती गर्ने योजना बनाएको थियो। त्यही परिप्रेक्ष्यमा उनले मार्सल ल लागू गरेका हुन्।






प्रतिक्रिया