न्यूयोर्क । एक्कासी देशमा सैनिक कानून घोषणा गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलविरुद्ध त्यहाँको संसदमा महाभियोग प्रक्रिया अघि बढाएको छ । राष्ट्रपति युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी मंगलाबार राति मार्सल कानुन लागू गरेका थिए । तर राष्ट्रपतिको घोषणाको केही घण्टामा नै उनी मार्सल कानुन फिर्ता गर्न बाध्य भएको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
राष्ट्रपतिको घोषणालाई दिएर सर्वत्रा विरोध शुरु भएको थियो भने दक्षिण कोरियाली सांसदहरू संसद्मा प्रवेश गरी सो घोषणा रोक्न मतदान गरेका थिए । सांसदहरु सेनाको अवरोध तोड्दै संसद भवनमा प्रवेश गरेका थिए । एक सांसदले आफू पर्खालमा चढेर संसद् भवनमा पसेको र त्यसका लागि प्रदर्शनकारीहरूले मद्दत गरेको बताएका थिए ।
संसदमा उपस्थित सबै १ सय ९० सांसदहरूले मार्सल कानुनविरुद्ध मतदान गरेपछि राष्ट्रपति युनले आफ्नो घोषणा फिर्ता लिने घोषणा गरेका थिए । तर बुधबार सांसदहरूले राष्ट्रपति युनविरुद्ध महाभियोगको प्रक्रिया सुरु गरेका हुन् ।
राष्ट्रपति युनले दक्षिण कोरियालाई उत्तर कोरियाको कम्युनिष्ट शक्तिहरूबाट जोगाउन र राज्यविरोधी तत्वहरूलाई परास्त गर्न मार्सल कानुन आवश्यक भएको दाबी गरेका थिए । उनले उत्तर कोरियालाई उद्धृत गरे पनि राष्ट्रपति युनको निर्णयलाई घरेलु दबाब र घोटालाहरूको श्रृंखलाको प्रतिक्रियाको रूपमा हेरिएको छ ।
राष्ट्रपतिविरुद्धको महाभियोगमा मतदान हुन केही दिन लाग्ने बिबिसीले जनाएको छ । संसद्को दुई तिहाई बहुमतबाट महाभियोग अनुमोदन भएको खण्डमा युनले संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । अदालतले पनि संसदको निर्णयलाई अनुमोदन गरे उनी राष्ट्रपतिबाट बर्खास्त हुनेछन् ।







प्रतिक्रिया