न्यूयोर्क । न्यूयोर्कको लङ आईल्याण्डस्थित हिक्सभिलमा पर्वत सेवा समाज न्यूयोर्कले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । हिक्सभिलस्थित ब्रडवे मलमा भएको रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको समाजले जनाएको छ ।
रक्तदान कार्यक्रममा सहभागी हुन १६० भन्दाबढी नेपाली समुदायको सहभागिता रहेको पर्वत समाजका अध्यक्ष सूर्य पौडेलले जानकारी दिए । कार्यक्रममा सहभागी मध्येबाट स्वास्थ्य परीक्षणपछि ६२ जनाले रक्तदान गरेका थिए । अध्यक्ष सूर्य पौडेलले कार्यक्रम सफल बनाउन भएको सहभागिता र सहयोगले आफूलाई अत्यन्त उत्साहित बनाएको बताए । यस प्रकारका सेवामूलक कार्यहरूले समाजलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पु¥याउने विश्वास उनले व्यक्त गरे ।
रक्तदान कार्यक्रमका प्रमुख अतिथि ईश्वर गिरिले विदेशमा रहेर पनि नेपाली समुदायले रक्तदानजस्तो पुण्यकार्यमा सहभागिता जनाइरहेकोमा प्रशंसा व्यक्त गर्दै यस्ता कार्यक्रमले समाजमा एकता र सहयोगको भावना थप प्रगाढ बनाउने बताए । कार्यक्रम संयोजक विशाल रेग्मीका अनुसार यो कार्यक्रम केवल रक्तदानमा सीमित नभई, समाजसेवा र समुदायलाई एकजुट बनाउने विशेष अभियानको रूपमा प्रस्तुत भएको बताए । यसले नेपाली समुदायलाई सेवा र सहयोगमा एकजुट गराउने प्रेरणा दिएको रेग्मीको भनाई छ ।
रक्तदानमा सहभागी दाताहरुलाई न्यूयोर्क राज्यका १५ डिस्ट्रिकका एसेम्ब्लीम्यान ज्याक ब्लुमेन्क्रेन्जको तर्फबाट पठाएको प्रशंसा पत्र नेपाली समुदायका अगुवा विश्वराज वास्तोलाले हस्तान्तरण गरेका थिए । एसेम्ब्लीम्यान ज्याकले पर्वत सेवा समाजको परोपकारी कार्यप्रति प्रशंसा व्यक्त गर्दै यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिन आग्रह गरेको वास्तोलाले जानकारी गराए ।
रक्तदान कार्यक्रममा पर्वत समाजका संरक्षण सल्लाहकार बाबुराम शर्मा, पूर्व अध्यक्षहरू टिका ढकाल, वसन्त चापागाईं, महेश खड्का, मोहन क्षेत्री, र शंकर भण्डारीका साथै शंकरनारायण प्रजापति, पिपलमणि सिग्देल, र विमल डाँगी लगायतका अगुवाहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया