पूर्वसभामुख एवं नागरिक अधिकारका अगुवा ढुंगानाको निधन
काठमाडौं । पूर्वसभामुख एवं नागरिक अधिकारवादी नेता दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा ढंगानाको नेपाली समय अनुसार आइतबार दिउँसो निधन भएको हो । ढंगाना कलेजोसम्बन्धी समस्याबाट पीडित थिए ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ को निर्वाचनमा काठमाडौंमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए ।
पछिल्लो समयमा भने उनी राजनीतिक रुपमा निश्क्रिय रहदै शान्ति प्रक्रिया, नागरिक अधिकार तथा लोकतन्त्रको रक्षाको निम्ति विभिन्न गतिविधिहरुमा सक्रिय रहदै आएका थिए । २०४७ सालमा संविधान बनेसँगै २०४८ मा भएको आम चुनावमा जितेर प्रतिनिधिसभा सभामुख बनेका दमननाथ ढुंगानाले तटस्थ र विवादरहित सभामुखको भुमिका निर्वाह गरेका थिए । सोही बेला उनले संसद् प्रतिपक्षको हो भन्ने मान्यतालाई स्थापना गरेका थिए ।
माओवादीलाई हतियार बिसायर शान्ति प्रक्रियामा ल्याउनको लागि स्वर्गिय पद्मरत्न तुलाधरसंग मिलेर ढंगानाले महत्वपूर्ण पहल गरेका थिए । ढुंगानाको निधन भएकोमा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका नेताहरु र नागरिक अगुवाहरुले दुख प्रकट गर्दै श्रद्धान्जली व्यक्त गरेका छन् । स्वर्गिय ढुंगानाको सोमबार पशुपतिमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । त्यसअघि स्वर्गिय ढंगानाको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि काठमाडौको सानो गौचरणमा राखिने जनाइएको छ ।





प्रतिक्रिया