काठमाडौ । सशक्त प्रतिद्धन्दी युएईलाई घरेलु मैदानमै पराजय चखाउदै नेपाली युवा महिला क्रिकेट टोली मलेसियामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको छ । आइसिसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत युएईको अजमानस्थित द सेभेन स्टेडियममा बुधबार भएको निर्णायक खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । आइसिसी यू–१९ विश्वकप आगमी जनवरीबाट मलेसियामा शुरु हुदैछ ।
नेपाल र युएईले समान ६–६ खेलबाट १०–१० अंकको परिणाम निकाले पनि रनरेटको आधारमा नेपाली टोली विश्वकप छनौटको लागि भाग्यमानी साबित भएको हो । नेपालले ३.९३५ रनरेट बनाउदा अघिल्लो खेलमा नेपाललाई नै हराएको युएईको भने ३.७४० मात्र रनरेट रह्यो ।
निर्णायक खेलमा युएई दिएको ८४ रनको सामान्य लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा गरी रनरेटमा सुधार गर्दा नेपाल छनौट हुन सफल भएको हो । टस जितेर ब्याटिङ गरेको घरेलु टोली युएई २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमै समेटिदा नेपालको जीतको सम्भावना बलियो बनेको थियो । युएईलाई ८३ रनमै प्याकअप गर्ने क्रममा नेपालकी कृष्मा गुरुङले १७ रन खर्चेर चार विकेट लिइन् । यस्तै रिया शर्मा र सीमा केसीले दुई दुई विकेट लिए ।
जीतको मनोबलसहीत जवाफी ब्याटिङमा आएको नेपालका लागि ओपनर सना प्रवीनले नटआउट ३५ रन र सोनी पाख्रिनले नटआउट १३ रन जोडेका थिए । ओपनर सावित्री धामीले १२ रन जोड्दा अर्की ओपनर कप्तान पूजा महतोले २१ रन बनाइन् । पबेलियन फर्किनुअघि पूजाले १८ बलमा ४ चौका प्रहार गरेकी थिइन ।
प्रतियोगितामा सहभागी चार टोली युएई, नेपाल, कुवेत र थाइल्याण्ड मध्ये नेपालले शीर्ष स्थान हासिल गर्दै विश्वकपमा छनोट हुन सफल भएको हो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रन, दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो। तेस्रो खेलमा भने नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो । यस्तै आइतबार भएको चौँथो खेलमा थाइल्याण्डलाई एक सय छ रनको विशाल अन्तरले पराजीत गरे भने पाँचौँ खेलमा कुवेतलाई पनि १६५ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भएको थियो । अब नेपालले आगामी जनावरी–फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ’डी’ मा रहेका अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसंग प्रतिस्पर्धा गर्नेछ । नेपाली महिला युवा टोलीको लागि यो पहिलो विश्वकप सहभागीता हो ।
छनोटचरण पार गर्दै अफ्रिकाबाट नाइजेरीया, अमेरिकी क्षेत्रबाट अमेरिका, पूर्वी एसियाबाट सामोअ र युरोपबाट स्कटल्यान्डले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । आयोजकको हैसियतमा मलेसियाले आफ्नो स्थान सुरक्षित बनाउँदा भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इङ्ल्यान्ड, आयरल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया र वेस्ट इन्डिजले भने अघिल्लो विश्वकपमा गरेको प्रदर्शनका आधारमा छनोट भइसकेका छन् ।





प्रतिक्रिया