न्यू योर्क। याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) भव्यताका साथ सम्पन्न भएको छ। किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा पूर्वमा बसोबास गर्ने प्रकृती पुजक याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) न्यू योर्कको गुल्सन टेरेशमा विविध साँस्कृतिक कार्यक्रम साथ सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कोलम्बिया युनिभर्सिटीका अन्तराष्ट्रिय तथा तुलनात्मक शिक्षाका एशोसिएट प्रोफेसर डा. प्रेम फ्याकले यस्तो पर्व रमाइलोका लागि मात्र नभएर विभिन्न जातजाति, धर्म र संस्कृतिमा रहेका नेपाली समुदायबीच अन्तरकृया गर्ने अवसर रहेको बताए। यस्तो कार्यक्रमले हामी को हौं भनेर चिन्ने अवसर दिएको बताउँदै आयोकलाई धन्यवाद व्यक्त गरे। बालबालिका, युवा, प्रौढ र पाका उमेरका सबैको उपस्थितिले अन्तरपुस्ता सम्वाद सिर्जना गरेको डा. फ्याकको तर्क छ।
कार्यक्रममा स्थानीय कलाकारहरुले लिम्बु भेषभेषामा च्याब्रुङ बजाएर केलाङ् नाचेका थिए। साथै तुम्मेहाङहरुलाई तोङबा खुवाएर सम्मान गरिएको थियो । कार्यक्रममा पे्रम मेयाङवाले हाक्पारे साङलो गाइएको थियो भने अन्य स्थानिय कलाकारहरुले साथ दिएका थिए । कार्यक्रममा लारिङ्गेत् तथा यालाङ प्रस्तुत गरिएको थियो । लिम्बु संस्कृति झल्कने साँस्कृतिक शो मा ४ बर्षदेखि माथिका बालबालिकाहरुले लिम्बु भेषभुषा दौरा सुरुवाल तथा मेख्ली लगाएर स्टेजमा क्याटवाक गरेको दृश्य अत्यन्तै आकर्षक देखिएको थियो। नयाँ पुस्तालाई लिम्बु, भेषभुषा तथा संस्कृति हस्तान्तरण गर्दै लिम्बु जातिको संस्कार संस्कृतिको जगेर्ना गर्नको लागि यस्तो शो गरेको चुम्लुङका अध्यक्ष दिपक थेवेले जानकारी दिए। बलिहाङ तङनामको अवसरमा शुभकामना व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे। कार्यक्रममा बालकालिकाहरु आफैले भट्याएर देउसी खेलेका थिए। कार्यक्रममा नव आगन्तुक सदस्यहरुलाई स्वागत गरिएको थियो।
कार्यक्रममा विविध साँस्कृतिक कार्यकमका साथै डिजे पनि आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो।
कार्यक्रममा संस्थापक अध्यक्ष श्याम मेयाङवो, अधिकारका सह–निर्देशक नर्वदा क्षेत्रीले बलिहाङ तङनामको अवसरमा शुभकामना व्यक्त गरे।
लिम्बु जातिको संस्कार, संस्कृति, भेषभुषा भावि पुस्तालाई हस्तान्तरण गर्न र जगेर्ना गर्ने उद्देश्यले अमेरिकामा रहेको लिम्बु समुदायले यो पर्व मनाउँदै आएको छ। बलिहाङ राजाको सन्तानहरुले यो पर्व मनाउँदै आएको किंवदन्ती छ ।








प्रतिक्रिया