०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

हाम्रो मेलामा व्यवसायी र दर्शकको उत्साहजनक सहभागीता, अर्को मेला म्यानहाटनमा गर्ने तयारी

मेलामा अनलाइनमार्फत सेलरोटी बेच्नेदेखि मम तथा पानीपुरी बेच्ने रेष्टुरेन्ट संचालक तथा म्यानहटनका टुयाटु सेवा संचालकदेखि मिथिला कला र थाङ्का कलाका व्यवसायीसंम्म सहभागी भएका थिए ।
हाम्रो मेलामा व्यवसायी र दर्शकको उत्साहजनक सहभागीता, अर्को मेला म्यानहाटनमा गर्ने तयारी

न्यूयोर्क । नेपाली कला संस्कृति र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले न्यूयोर्कको क्वीन्समा आयोजना भएको एकदिने सडक मेलामा व्यवसायी र दर्शकहरुको उत्साहजनक सहभागिता देखिएको छ । सडक मेलामा अनलाइनमार्फत सेलरोटी बेच्नेदेखि मम तथा पानीपुरी बेच्ने रेष्टुरेन्ट संचालक तथा म्यानहटनका टुयाटु सेवा संचालकदेखि मिथिला कला र थाङ्का कलाका व्यवसायीसंम्म सहभागी भएका थिए । व्यवसायीहरुले यसप्रकारको मेलाबाट आफ्नो व्यवसाय प्रवर्दनमा धेरै सहयोग हुने भएकोले वर्षमा एकपटक भन्दा बढी आयोजना हुनुपर्ने सुझाए । 

हाम्रो मेला इन्कले शनिबार क्वीन्सको ज्याक्सन हाइटमा आयोजना गरेको हिमालयन स्ट्रिट फेयर हाम्रो मेलामा व्यवसायीहरु दिनभर नै ग्रहकहरुलाई सेवा दिन तथा आफ्नो व्यवासयको बारेमा जानकारी दिन भ्याइनभ्याइ थिए । यस्तै दर्शकहरु पनि आफ्नो रुचीका परिकारको स्वाद लिदै नेपाली गीतसंगीतमा रमाइरहेका थिए । विहान दशबजेबाट शुरुभएको मेलामा साँझसम्मै दर्शकहरुको भीड लागेको थियो । 

हाम्रो व्यवसायलाई धेरै मार्केटिङको जरुरी हुन्छ, यस्तो मेलामा सहभागी हुन पाउदा प्रचारप्रसार गर्ने अवसर मिलेको छ, म्यानहट्टनमा इन्क ब्रदर ट्याटु संचालन गर्दै आएका निमा तामाङ र निमा गुरुङ भन्दै थिए । एनवाइसी नेपालन्युज संग कुरा गदै उनीहरुले मेलामा सहभागी हुँदा धेरैजनासंग चिनजानको मौका मिलेको र कतिपयले त ट्याटुको लागि अप्वइन्टमेन्ट समेत लिइसकेका बताए । निमा तामाङ र निमा गुरुङ जस्तै शनिबार भएको हाम्रो मेलाबाट आफ्नो व्यवसायको प्रवर्दन गर्न पाउदा व्यवसायीहरु निकै हौसिएका छन् । मिथिला कलाका कलाकार अजित कुमार साहले मेलाको दिन धेरै बिक्रि नभएपनि अवलोकनकर्ताहरुसंग संपर्क बढेको र यसबाट आगमी दिनमा व्यवसाय वृद्धिमा सहयोग पुग्ने बताए । यो प्रकारको मेला दशैअघि भएको भए अझ राम्रो हुने भन्दै वर्षमा एकपटक भन्दा बढी हुनुपर्ने कलाकार साह सुझाब दिन्छन् । 


गुरुङ चलचित्रका निर्देशक समेत रहेका यन्सर्ज गुरुङलाई शनिबार दिनभरी नै सेल पोलेर भ्याइनभ्याइ थियो । मेलास्थलमा नै सेल पोलेर बिक्रि गरिरहेका उनको स्टलमा सेल खानेहरुको भीडलाई सेल पुर्याउनै सकेनन् उनले । नेपाली समुदायको विवाह भोजमा सेल तरकारीको अडर लिएर पुर्याइदिने गर्दै आएका गुरुङले आफ्नो व्यवसायलाई प्रचार प्रसार गर्न पाउदा खुशी लागेको बताए । ज्याक्सन हाइटमै एवान मम संचालन गरिरहेका प्रमोद र नेपाली मम क्याफेका हरि पुनले मेलाका दिनको व्यापार भन्दा पनि आफ्नो पसलको प्रचार प्रसार गर्न पाउनु यस्तो मेलामा सहभागी हुनुको उपलब्धी भएको बताए । 

नेपाली परिकार र कला संगीतमा रमाउन नेपाली मात्र नभई अन्य देशका नागरिकहरु समेत सहभागी भएका थिए । ब्रुकलिनबाट मेलामा सहभागी हुन आएका नाथन र एलेक्साले नेपाली परिकार स्वादिलो लागेको बताए । खसीको मासको परिकार र पोर्क बारबाक्युको स्वाद निकै मन परेको उनीहरुले बताए । नेपाली मानिसहरु र गीतसंगीले समेत आफुहरुलाई आकार्षित गरेको दुबैको भनाई थियो । हिमालयन स्ट्रिट फेयर हाम्रो मेलामा क्वीस्स बोरोका बोरो उपप्रमुख याबोनी योङ, क्वीन्सकै डिस्ट्रिक ३० का एसेम्ब्ली मेम्बर स्टेफन रागा, प्रसिद्ध फेसन डिजाइनर प्रबल गुरुङ लगायतका व्यक्तिहरुको समेत सहभागीता रहेको थियो । एनवाइसी नेपाल न्युजसंग कुरा गर्दै एसेम्ब्ली मेम्बर स्टेफन रागाले मेलामा नेपालीहरुको उल्लेख्य सहभागी देखेर खुशी लागेको बताए । नेपाली मात्र नभएर अन्य समुदायका मानिसहरु समेत नेपाली कला संस्कृति र परिकारमा रमाउन मेलामा आएको आफुले देखेको रागाले बताए । 
मेलामा सहभागी भएर नेपाली कला संस्कृतिको अबलोकन गरेको बताउदै नेपाली परिकारहरुको समेत स्वाद लिएको उनले बताए । अनलाइनमा र स्टोरहरुमा आफ्नो व्यवसाय गरिरहेकाहरुका लागि यो मेलाले प्रचार प्रसार गर्न अवसर मिलेको र यस्ता साना व्यवसायीहरुलाई प्रवर्दनको सहयोग गर्न आफुले संधै सहयोग गर्ने उनले बताए । नेपाली कला संस्कृति र व्यवसायको प्रवर्दनका लागि म्यानहटानमा समेत यसप्रकारको मेला आयोजना गर्न आफुले सक्दो सहयोग गर्ने एसेम्ब्लीमेन रागाले प्रतिबद्धता जनाए । 

शनिबारको मेलामा नेपाली कला संस्कृति र परिकारकासाथै नेपाली गीत संगीतमा समेत दर्शकहरु दिनभर नै झुमेका थिए । नेपाल अमेरिका कलाकार संघका अध्यक्ष बसन्ती राई, लोक गायक विमल डाँगी तथा अन्य कलाकारहरुले गीत तथा नृत्यमार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रम संचालकद्धय बिक्की पुलामी र प्रियरानी लामाले सांस्कृतिक कार्यक्रममा दर्शकहरुलाई झुमाएका थिए । 

हाम्रो मेलाका संचालक दिपेन्द्र लामाले शनिबारको मेलामा करिब ७ हजार दर्शकहरुले मेलाको अवलोकन गरेको जानकारी दिए । मेलामा सहभागी हुन आएको नेपाली तथा गैर नेपालीहरुको संख्या देखेर आफुहरुलाई निकै उत्साहित बनाएको लामाले बताए । मेलामा विविध खालका स्टलहर रहेकाले पनि दर्शकहरुलाई आकार्षण गरेको बताउदै २७ वटा व्यवासयिक स्टलहरु रहेको जानकारी दिए । विषेश कारणले गर्दा यो पटकको मेलामा त्यति प्रचार हुन नसकेपनि सहभागीहरु भने निकै राम्रो देखिएको उनले बताए । ज्याक्सन हाइटको मेलालाई पनि निरन्तरता दिदै आगमी दिनमा न्यूयोर्कको मुख्य शहर म्यानहाटनमा पनि नेपाली सडक ब्यापार मेला आयोजनाको तयारी भइरहेको संचालक लामाले जानकारी दिए । शनिबारको मेलामा सहभागी भएका ब्यापारिक स्टलहरुले पाँच सयदेखि २५ सय डलर सम्मको विक्रि वितरण गरेको संचालक लामाले जानकारी दिए । 

प्रतिक्रिया