न्यू योर्क । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यु योर्कमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीवीच आज साँझ भेटवार्ता हुने भएको छ ।
परराष्ट्र मन्त्रालय श्रोतका अनुसार आजबाट शुरु हुने दुईदिने समिट अफ द फ्युचरको उद्घाटन समारोहमा सहभागी भएपछि साँझ ओली र मोदीवीच भेटवार्ता हुन लागेको हो । ओली र मोदीवीचको भेटवार्ताअघि समिट अफ द फ्युचरलाई प्रधानमन्त्री ओलीले संबोधन गर्ने कार्यक्रम रहेको छ । ओली र मोदीबीच साँझ ५ः३० बजे म्यानहटनस्थित एक होटलमा भेटवार्ता हुने तय भएको श्रोतले जनाएको छ ।
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएपछि भारतीय प्रधानमन्त्रीसंग पहिलो पटक औपचारिक भेटवार्ता हुन लागेको हो । यो भेटवार्ता कुनै एजेण्डामा केन्द्रीत नभए पनि दुइपक्षीय चासोका विविध विषयमा छलफल हुने परराष्ट्र श्रोतको दावी छ । नेपालमा ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेवीच नयाँ राजनीतिक समिकरण भई केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएपछि नेपालका प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई भ्रमणको निम्तो दिए पनि भारतको तर्फबाट भने ओलीलाई भ्रमणको लागि औपचारिक निमन्त्रणा आएको छैन ।
नेपाल र भारतवीच सीमा लगायतका समस्या लामो समयदेखि विवादका रुपमा रहदै आएको र यसमा उच्चस्तरीय तहबाट वार्ता हुन नसकिरहेको अवस्थामा नेपालमा सरकार परिवर्तनपछि दुवैदेशका प्रधानमन्त्री तहमा हुन लागेको भेटवार्तालाई महत्वपूर्ण रुपमा लिइएको छ । ओलीले आफु प्रधानमन्त्रीमा नियुक्ति भएदेखि नै भारतसंगको सीमा समस्या आपसी संवादको माध्यमबाट समधान गर्ने बताउदै आएका छन् । यस्तै नेपाल र भारतवीच विद्यमान सीमा लगायत सबैखाले समस्याको समाधानको सुझाब प्रस्तुत गर्न झण्डै ६ वर्षअघि नेपाल र भारत सरकारद्धारा गठन गरिएको प्रबुद्ध समूहको प्रतिबेदन भारतले बुझ्न मानेका छैनन् । ओलीले भने भारतले सो प्रतिबेदन बुझ्नुपर्ने दुई साताअघि एक सार्वजानिक कार्यक्रममा बताएका थिए ।
यसअघि डेढवर्षको अवधिमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रुपमा दुईपटक भारत भ्रमण गरेपनि सीमा समस्यामा खासै चर्चा हुन सकेको थिएन । नेपालले लिपुलेक लिम्पियाधुरालाई आफ्नो देशको भुभाग भएको तथ्यसहीत संविधान संशोधन गरेर नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षले असन्तुष्ट जनाउदै आएको छ। संयोगवस नयाँ नक्शा जारी गर्ने बेलाका पनि प्रधानमन्त्री रहेका केपी ओली नै यसपटक पनि प्रधानमन्त्रीमा रहेकाले भारतीय प्रधानमन्त्री मोदीसंग हुने भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ । २०७२ सालमा नेपालमा नयाँ संविधान जारी गर्ने बेलामा भारतीय चासोलाई सम्बोधन नगरेको बदलामा नेपालमा भएको आन्दोलनलाई दोष देखाएर भारतीय पक्षले नाकाबन्दी गरेको बेलामा तत्कालीन प्रधानमन्त्री ओलीले नाकाबन्दी नहटाएसम्म भारत भ्रमणमा नआउने अडान लिएपछि भारतले बाध्य भएर नाकाबन्दी हटाउनु परेको थियो । सो घटनायता प्रधानमन्त्री ओलीलाई राष्ट्रियताको पक्षमा अडान लिन सक्ने नेताको रुपमा प्रसंशा गरिन्छ । प्रायः नेपालका प्रधानमन्त्रीले नियुक्तीपछि पहिलो विदेश भ्रमण भारतबाट शुरु गर्ने अघोषित प्रचलन जस्तै रहेकोमा प्रधानमन्त्री ओलीले भने यसपटक आफ्नो भ्रमण अमेरिकाबाट शुरु गरेको छ । यो भ्रमणलाई लिएर भारतीय संचार माध्यमहरुले नेपालका प्रधानमन्त्रीले भारतबाट पहिलो विदेश भ्रमण शुरु गर्ने पराम्परालाई तोडेको टिप्पणि गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसंग भेटवार्ता गर्नुअघि अर्को दक्षिण एसियाली मुलुक भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे र कुबेतका राजकुमार शैख सबाह अल खालिद अल हमाद अल मुबारक अब सबाहसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।





प्रतिक्रिया