१२ साउन २०८३, मङ्गलबार
Tue, Jul 28, 2026
SUBSCRIPTION

मगर संघ अमेरिकाको १०औं बार्षिक साधारण सभा बोस्टनमा हुँदै, नेपाल, बेल्जियम र युकेबाट अतिथि सहभागी हुने

मगर संघ अमेरिकाको १०औं बार्षिक साधारण सभा बोस्टनमा हुँदै, नेपाल, बेल्जियम र युकेबाट अतिथि सहभागी हुने

न्यू योर्क। मगर संघ अमेरिकाको १०औं बार्षिक साधारण सभा अगस्ट ८, मा म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा हुँदैछ । अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता उदाँउदो मगर पुस्तालाई मगर भाषा , संस्कार, संस्कृति पुस्तान्तरण आजको आवश्यकता भन्ने मूल नाराको साथ मगर संघ अमेरिकाले १० औंसाधारण सभा गनै लागेको अध्यक्ष दिप सागर बुढा मगरले जानकारी दिए । साधारण सभाको लागि विभिन्न राज्यमा रहेका मगरहरु बोष्टनमा भेला हुँदैछन् । मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको मुख्य ब्यबस्थापनमा हुन लागेको साधारण सभाका अन्तिम तयारी भइरहेको छ । साभारण सभाको प्रमुख अतिथिको रुपमा बिश्वप्रसिद्व पर्वतारोही तथा प्रेरक बक्ता हरि बुढा मगर बेलायतबाट आउने भएका छन । अफगानिस्तानको युद्वभूमिमा भएको बिस्फोटनमा दुवै खुट्टा गुमाएका बुढा मगर कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले विश्वका सातै महाद्वीपका अग्ला हिमाल आरोहण पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोहीका रूपमा कीर्तिमान कायम गरेका व्यक्ति हुन् । रोल्पाको विकट गाउँदेखि ब्रिटिस गोर्खा सैनिक बन्ने सपना, त्यसपछि युद्वमा भोगेको चोट, र दुवै दुवै खुट्टा गुमाएपछि पनि सातै महादेशका सर्वोच्च शिखरमा पुगेर संसारलाई देखाइएको साहस र हरिको जीवन कथा सबैका लागि प्रेरणा दिने कथा हो ।त्यस्तै, नेपाल आदिवासी जनजाति अन्तराष्ट्र्रिय महासंघका अध्यक्ष मान बहादुर राना मगर, अन्तर्राष्ट्रिय मगर महासंघका महासचिब बिरभान घर्ति मगर बेल्जियमबाट र त्रिभुवन विश्वविद्यालयका प्रोफेसर झकेन्द्र घर्ति मगर नेपालबाट विशिष्ट अतिथिको रुपमा सहभागी हुने छन् । उनीहरुले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गर्दैछन । मगर संघ अमेरिका केन्द्रीय समितिका पुर्व अध्यक्ष महेन्द्र थापा मगर, रुद्र आले मगर, कुलदिप राना मगर र निवर्तमान अध्यक्ष याम पुन मगरको बिशेष उपस्थिति रहनेछ । साधारण सभाले संस्थाको इतिहासमै पहिलो पटक बोस्टन शहरबाट बोस्टन घोषणा पत्र २०२६ गर्ने तय गरेका छन् ।घोषणापत्रमार्फत मगर संघ अमेरिकाले अमेरिका भर रहेका मगरहरुको एकताको सन्देश दिने अध्यक्ष दिप सागर बुढा मगरले बताए ।कार्यक्रममा मगर सांस्कृतिक परेड २०२६ पछि समुदघाटन गरिने छ । बन्द सत्रपछि र शुभकामना सांस्कृतिक साँझ २०२६ आयोजना गरिने छ । मगर सांस्कृतिक झाँकी सहित करिब दुई माइल मगर सांस्कृतिक परेड गरिने मगर संघले जनाएको छ । प्रमुख अतिथि बुढा मगरलाई बिशेष अभिनन्दन गरिने कार्यक्रम छ साथै बिबिध क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुरुलाई सम्मान गर्ने कार्यक्रम छ । त्यस्तै अमेरिकामा अध्यनरत १० जना उत्कृष्ट बिधार्थीहरुलाइ मगर छात्रवृति २०२६ प्रदान गरिनेछ । संस्थाका नयाँ आजिवन सदस्यहरुलाई सदस्यता प्रदान गरिने भएको छ। बन्द सत्रको समापन पछि शुभकामान सांस्कृतिक साँझ २०२६ मा चर्चित कलाकारहरुको प्रस्तुति साथै बिभिन्न च्याप्टरहरुको सांगीतिक प्रस्तुति रहनेछ ।साधारण सभाको मुख्य व्यवस्थापनको हैसियतले म्यसचुसेट्स च्याप्टरले बिभिन्न उप(समितिहरु गठन गरेर कार्यक्रमलाई चुस्त बनाउन लागि परेको म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष देबराज पुन मगरले बताए। अमेरिकाभरी छरिएर रहेका नेपाली र नेपालीमुलका सम्पुर्ण मगरहरुलाई गोलबद्व गरेर मगरहरुको भाषा, भेषभुषा, संस्कार संस्कृति, रितिरिवाज तथा परम्पराहरुलाई संरक्षण र सम्बद्र्वन गर्दै अमेरिका मै रहेका अन्य नेपाली समुदायसँग समन्वय र सहकार्य गर्ने उद्देश्यले सन २००४ मार्च २८ मा मगर संघ अमेरिकाको स्थापना गरिएको थियो ।

 

प्रतिक्रिया