१२ चैत २०८२, बिहिबार
Thu, Mar 26, 2026
SUBSCRIPTION

ला गार्डिया रनवेमा विमान दुर्घटना, दुईको मृत्यु, ४२ यात्रु घाइते

ला गार्डिया रनवेमा विमान दुर्घटना, दुईको  मृत्यु, ४२ यात्रु घाइते

न्यु योर्क। ला गार्डिया एयरपोर्टमा आइतबार राति एअर क्यानडा एक्सप्रेसको यात्रुवाहक विमान र दमकल (फायर ट्रक) ठोक्किँदा दुई विमान चालकको मृत्यु भएको छ।

अधिकारीहरूका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू विमानका एक चालक रअर्का सहचालक हुन्। यो विमान मोन्ट्रियलबाट न्यु योर्क आएको उडान नम्बर ८६४६ थियो। विमानमा ७२ जना यात्रु र ४ जना चालक दलका क्रु सवार थिए। यो उडान ज्याज एभिएसनले एअर क्यानडा एक्सप्रेसका लागि सञ्चालन गरिरहेको थियो। 

दुर्घटना मार्च २२ को राति करिब ११:४० बजे भएको बताइएको छ। दुर्घटनाका कारण विमानस्थल कम्तिमा मार्च २३ दिउँसो २ बजेसम्म बन्द रहने छ। यसका कारण धेरै उडान प्रभावित भएका छन। विमान अवतरण गर्ने क्रममा रनवेमा रहेको एउटा पोर्ट अथोरिटी एयरक्राफ्ट रेस्क्यु एन्ड फायरफाइटिङ भेहिकल, अर्थात् दमकलसँग ठोक्किएको थियो। टक्करपछि विमानको अगाडिको भागमा गम्भीर क्षति पुगेको छ। दमकल (फायर ट्रक) पनि पल्टिएको थियो। 

प्रारम्भिक जानकारी अनुसार, त्यो फायर ट्रक अर्को आपत्कालीन घटनातर्फ जाँदै थियो। एउटा युनाइटेड एयरलाइन्स उडानमा आएको गन्धसम्बन्धी समस्यापछि फायर ट्रकलाई परिचालन गरिएको थियो। त्यही क्रममा रनवे पार गर्ने बेलामा अवतरणरत एअर क्यानडाको विमानसँग ठक्कर भएको बताइएको छ। 

समाचार संस्था रोयटर्स र एपी का अनुसार, एयर ट्राफिक कन्ट्रोलले फायर ट्रकलाई रनवे पार गर्न अनुमति दिएको थियो। पछि अन्तिम क्षणमा रोक्न निर्देशन दिइएको अडियो पनि सार्वजनिक भएको छ। तर त्यसबेलासम्म ठक्कर रोक्न ढिला भइसकेको थियो। दुर्घटना हुँदा विमानको गति करिब २४ माइल प्रतिघण्टा रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। 

घटनामा घाइतेको संख्या विभिन्न प्रारम्भिक रिपोर्टमा केही फरक देखिए पनि, ४१ जना अस्पताल लगिएको विवरण आएको छ। तीमध्ये ३२ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ। ९ जना अझै अस्पतालमा छन्। फायर ट्रकमा रहेका दुई कर्मचारी पनि घाइते भएका छन्। तर उनीहरूको ज्यान जोखिममा नरहेको बताइएको छ। 

दुर्घटनापछि फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) र नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटिएसबी) ले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया