न्यू योर्क। नेपाली मूलका समाजसेवी सोमनाथ घिमिरेले अमेरिकाको न्यू योर्कमा रहेका नेपालीहरुसँग सहयोगको लागि अपिल गरेका छन् । न्यू योर्क राज्यको डिष्ट्रिक्ट ३० को प्रदेशसभा सदस्य पदको लागि डेमोक््रयाटिक पार्टीको प्राइमरी चुनावमा उम्मेदवारी घोषणा गरेका घिमिरेले नेपाली समुदायसँग आर्थिक, नैतिक र भौतिक सहयोगका लागि अपिल गरेका हुन् ।
ज्याक्सन हाइटमा अवस्थित नेपाली भान्छा घरमा आयोजित फन्ड रेजिङ कार्यक्रममा घिमिरेले समुदायका अगुवाहरुसँग नेपाली अमेरिकनको हितमा काम गर्ने भएकाले आफुलाई सहयोग गर्न अनुरोध गरे । डेमोक््रयाटिक पार्टीको प्राइमरी चुनावमा आफुले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेको जानकारी दिंदै घिमिरेले सबै जनताका लागि सुलभ आवास, इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) सम्बन्धी शुन्य सहनशिलता र समान शिक्षाको लागि आफु लड्ने प्रतिबद्धता व्यक्त गरे ।नेपाली समुदायको हितलाई प्राथमिकतामा राखेर काम गर्ने र हातेमालो गर्दै वास्तविक परिवर्तन गर्न सकिने घिमिरेको भनाइ छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष तोरण गुरुङले अमेरिकाको मूलधारको राजनीतिमा नेपाली लाग्नु नेपालीकै लागि गर्व भएको बताउँदै आफुले सक्दो सहयोग गर्ने बताए ।
त्यस्तै सामाजिक अभियन्ता तथा हेल्लो अमेरिकाका प्रस्तोता सुमन थाम्सुहाङले नेपालीका लागि के के योजना लिएर अघि बढेको हो प्रष्ट पारेमा जनतालाई बुझाउन सजिलो हुने बताए । सामाजिक अभियन्ता चमेली परियार, नेपाल अमेरिका पत्रकार संघ नेजाका क्षेत्रिय संयोजक सिर्जना काफ्ले, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु तथा समुदायका अगुवाहरुले घिमिरेको उमेद्धारी नेपालीका लागि गर्वको कुरा भएको बताउँदै सहयोग गर्न सबैलाई अनुरोध गरे ।
उनले नेपाली समुदायलाई स्वंयेसेवक बनेर तथा सामाजिक सञ्जालमा आफ्नो उमेद्धारी बारेमा जानकारी दिएर पनि सहयोग गर्न अनुरोध गरे । मकै हाउसका पत्रकार विक्की पुलामीले कार्यक्रम सञ्चालन गरेका थिए ।
गएको २८ बर्षदेखि अमेरिकालाई कर्मथलो बनाएका घिमिरेले जनवरी ११, २०२६ मा क्वीन्सको वुडसाइडस्थित गुलशन टेरेसमा एक कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गरेका थिए । जुन २३ मा प्राइमरी निर्वाचन हुने भए पनि जुन १३ देखि जुन २१ सम्म अर्लि भोटिङ गर्न सकिने छ ।




प्रतिक्रिया