न्यूयोर्क । न्यूयोर्क सिटीमा आउने भनिएको भिषण शीतकालीन आँधीको कारण सोमबार सिटीको सार्वजानिक विद्यायल बन्द हुने भएको छ । सिटीले राती नौबजेबाट सवारी आवगमनमा समेत रोक लगाएको छ । मेयर जोहरान मामदानीले आइतबार भएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।
एक महिनाअघि परेको हिउँसमेत पूर्ण रुपमा पग्लिन नपाउदै न्यूयोर्क लगायत अमेरिकाको पूर्वी तटीय क्षेत्रमा फेरी भिषण हिमआँधी आउने भएको छ । आइतबार अपरान्हबाट हिउँ र पानी पर्न शुरु भएको छ । यो क्रम साँझ ६ बजेबाट थप तिब्र हुने र सोमबार विहान सम्म जारी रहने जनाइएको छ । पूर्वी तटीय क्षेत्रमा बाढीको चेतावनी समेत दिइएको छ ।
नेसनल वेदर सर्भिसका अनुसार, सोमबार साँझ ६ बजेसम्म शहरमा कम्तीमा एक फुट (१२ इन्च) बरफ जम्ने सम्भावना छ। हावाको झोक्का ५५ माइल÷घन्टासम्म पुग्न सक्ने अनुमान गरिएको छ।
सबैभन्दा कडा अवस्था सोमबार बिहान १ बजे देखि ११ बजेसम्म हुने अपेक्षा छ। यही अवधिमा अत्यधिक बरफपातको दर र सबैभन्दा बलियो हावाले खतरनाक ‘ब्लिजार्ड’ अवस्था सिर्जना गर्न सक्ने अधिकारीहरूले बताएका छन्।
गत महिना, जनवरी २५ मा भएको ठूलो हिमपातका कारण सार्वजनिक विद्यालयहरू बन्द भएका थिए र अर्को दिन अनलाइन कक्षामा गएको थियो; त्यसपछि जनवरी २७ मा फेरि प्रत्यक्ष (इन–पर्सन) कक्षा सुरु गरिएको थियो। शहरका अधिकारीहरूले मंगलबार विद्यालय खुल्ने÷नखुल्ने बारे अझै निर्णय गरिसकेका छैनन्।




प्रतिक्रिया