न्यु योर्क। मेयर जोहरान माम्दानीले आर्थिक वर्ष २०२७का लागि १२७ अर्ब डलरको प्रारम्भिक (प्रिलिमिनरी) बजेट सार्वजनिक गरेका छन्। यो बजेट चालु वर्षको तुलनामा करिब ११ अर्ब डलरले बढी तथा हाल सम्मकै उच्च हो।
बजेट सार्वजनिक गर्दै मेयर माम्दानीले सिटीको खर्च र आम्दानीबीचको “बजेट ग्याप” पूर्ति गर्न दुई बाटो रहेको बताए। उनका अनुसार पहिलो विकल्प धनी वर्ग र कर्पोरेसनमाथि कर बढाउने र राज्यसँगको वित्तीय असन्तुलन घटाउनेतर्फ जाने हो। दोस्रो विकल्पका रूपमा प्रपर्टी ट्याक्स बढाउने र सिटीको रिजर्भ (बचत/कोष) प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
मेयर माम्दानीको भनाइअनुसार अल्बानी (राजधानी) बाट आवश्यक कर/राजस्व सम्बन्धी निर्णय नभए ९.५% प्रपर्टी ट्याक्स वृद्धि “लास्ट रिजोर्ट” (अन्तिम विकल्प) हुन सक्छ। यो सम्भावित कदमले घरधनी र व्यवसायिक सम्पत्तिसहित विभिन्न क्षेत्रमा प्रभाव पार्न सक्छ।
यसैबीच, गभर्नर क्याथी होकुलले सिटीका वित्तीय चुनौतीलाई सम्बोधन गर्न राज्यले दुई वर्षमा १.५ अर्ब डलर थप सहयोग दिने घोषणा गरेकी छन्। यो प्याकेजमा ५१० मिलियन डलर ‘रिकरिङ’ फन्डिङ पनि समावेश रहेको सिटीको आधिकारिक विज्ञप्तिमा उल्लेख छ।
प्रस्तावित बजेटमा आप्रवासी/असाइलम व्यवस्थापनसँग सम्बन्धित खर्चका लागि थप १.२ अर्ब डलर राखिएको छ। आप्रवासी संकटसम्बन्धी कुल खर्च पछिल्ला वर्षहरूमा धेरै बढेको भन्दै यस शीर्षकलाई लिएर पनि आलोचना र बहस चर्किने सम्भावना छ।
सार्वजनिक सुरक्षाको पक्षमा पनि बजेटले संकेत गर्ने नीति परिवर्तनहरू चर्चामा छन्। केही रिपोर्टअनुसार प्रारम्भिक बजेटमा ५ हजार प्रहरी चरणबद्ध रूपमा थप्ने योजना अघि नबढाइने र एनवाईपीडी (एनवाईपीडी) बजेटमा केही कटौती हुने जस्ता बुँदाहरू समेटिएको बताइएको छ। तर यी विषयहरू आगामी ‘एक्जिक्युटिभ बजेट’ र सिटी काउन्सिल छलफलमा थप स्पष्ट हुनेछ।




प्रतिक्रिया