०१ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 14, 2026
SUBSCRIPTION

एनवाईपीडीले विन रोजारियोलाई गोली हान्ने प्रहरीमाथि मुद्दा चलायो

एनवाईपीडीले विन रोजारियोलाई गोली हान्ने प्रहरीमाथि मुद्दा चलायो

न्यू योर्क। एनवाईपीडी कमिस्नर जेसिका टीशले विन रोजारियोलाई गोली हानेका दुई अधिकारी सल्भाटोर अलोङ्गी र म्याथ्यु सिआनफ्रोको विरुद्ध दुराचार (मिसकन्डक्ट) को मुद्दा चलाएको छ। यससँगै ती प्रहरी अधिकारीमाथि अत्याधिक बल प्रयोग गरेको र अधिकार दुरुपयोग गरेको अभियोगमा अनुसन्धान हुनेछ।

मानसिक स्वास्थ सङ्कटमा रहेका बिनलाई मार्च २७, २०२४ मा ती प्रहरी अधिकारीले क्विन्सको ओजोन पार्कस्थित उनकै घरमा गोली हानेर मारिदिएका थिए। त्यतिबेला उनको उमेर १९ वर्ष थियो। त्यसयता परिवार र समर्थकरुले बिनको न्यायका लागि सङ्घर्ष गर्दै आएका छन्। उक्त सङ्घर्षमा दक्षिण एशियाली तथा इन्डो क्यारेबियन आप्रवासी समुदायको हितमा काम गर्दै आएको देसिज राईजिङ अप एण्ड मुभिङ (ड्रम) र जस्टिस कमिटी लगायतका संघ संस्थाले सहयोग गर्दै आएका छन्।

सिभिलियन कम्प्लेन्ट रिभ्यू बोर्ड (सीसीआबी) ले गत साता अलोङ्गी र सिआनफ्रोको विरुद्ध अत्यधिक बल प्रयोग र अधिकार दुरुपयोग सहित कूल आठवटा आरोप सही भएको ठहर गरेको थियो। उनका परिवार तथा समर्थकरुले वान पुलिस प्लाजास्थित एनवाईपीडी मुख्यालय अघि बिहीबार ती अधिकारीहरूलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको थियो। सोही दिन कमिस्नर टिशले ती अधिकारीविरुद्ध मुद्दा दायर गरेको बताएकी हुन्। अब दुवै अधिकारीमाथि विभागीय (अनुशासन) मुद्दा चल्नेछ। मुद्दा अनुसन्धान सकिएपछि बहालवाला एनवाईपीडी कमिस्नरले ती प्रहरी अधिकारीमाथि कस्तो कारवाही गर्ने हो भन्ने अन्तिम निर्णय गर्नेछन्। 

हाल एलोङ्गी र सियानफ्रोको दुवैलाई गैर–पेट्रोल जिम्मेवारीमा सारिएको छ। न्यू योर्क अटर्नी जनरलको कार्यालयले प्रहरी संलग्न भएकाले उक्त घटनाको अझै समीक्षा गरिरहेको छ। जस्टिस कमिटीकी कार्यकारी निर्देशक लोयडा कोलोनले टीशको कदमलाई “ठीक” भनेकी छन् । उनले तत्काल मुद्दाको मिति तोक्न तथा अटर्नी जनरल लेटिसिया जेम्सलाई आपराधिक अभियोग लगाउन माग गरेकी छिन्। पुलिस बेनेभोलेंट एसोसिएसनले भने एनवाईपीडीको छानबिनले  एलोङ्गी र सियानफ्रोकोलाई सफाइ दिइसकेको भन्दै सीसीआरबीको निर्णयको आलोचना गरेको छ। 

टीशले २०१९ मा ब्रङ्क्समा एलन फेलिजको मृत्यु प्रकरणमा लेफ्निेन्ट जोनाथन रिभेरालाई बर्खास्त गर्न न्यायाधीशको सिफारिस अस्वीकार गर्दै उनलाई सफाइ दिएकी थिइन्। यता, पूर्व कमिस्नर एडवर्ड कबानले २०१९ मा मानसिक स्वास्थ्य संकटका बेला कवास्की ट्राविकको मृत्यु प्रकरणमा संलग्न अधिकारीहरूलाई सीसीआरबीले कारवाहीको सिफारिस गरेपनि त्यसलाई अस्वीकार गरेका थिए। 

बिन रोजारियो प्रकरणको बडी–क्यामेरा भिडियोमा  एलोङ्गी र सियानफ्रोको ओजोन पार्कस्थित उनको घरमा प्रवेश गरेको देखिन्छ। बिनले किचनबाट कैंची निकालेपछि अलोङ्गीले टेजर प्रयोग गरेका थिए। उनको आमाले कैंची खोसेपनि बिनले पुनः लिएका थिए। त्यसपछि सिआनफ्रोकोले पहिले हात र केही सेकेन्डमै छातीमा गोली हानेका थिए। परिवारको अनुनय विनयका बावजुद उनीहरुले गोली चलाएका थिए। प्रहरीलाई बिनकै फोनबाट सम्पर्क गरी उनको ब्यबहार असामान्य भएको भन्दै सहयोगका लागि बोलाइएको थियो।

 

प्रतिक्रिया