द अमेरिकन सोसाइटी अफ नेप्लीज इन्जिनियरर्स (ASNEngr) को १८औँ वार्षिक राष्ट्रिय सम्मेलन सफलतापूर्वक गरेको छ। द अमेरिकन सोसाइटी अफ नेप्लीज इन्जिनियरर्सको ग्रेटर न्यूयोर्क मेट्रो च्याप्टरले अगस्ट ९ मा न्यूयोर्कको डबल ट्री बाई हिल्टनमा एडभान्सिङ द फ्युचर थु्र एक्वीटेबल इन्जिनियरिङ, एन्टरप्रेनरसिप एण्ड इमर्जिङ टेक्नोलोजी भन्ने मूल नारासहित राष्ट्रिय सम्मेलन आयोजना गरेको हो। प्रमुख अतिथि महावाणिज्यदुत दधिराम भण्डारीले प्रवासी इन्जिनियरहरूले नेपालको विकासमा योगदान पुर्याउन सक्ने बताए ।
कार्यक्रमका प्रमुख वक्ता विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङसँग राजु जोशीले अन्तरकृया गरेका थिए । घिसिङले नेपालको दिगो ऊर्जाको भविष्यबारे आफ्नो दृष्टिकोण राख्दै नयाँ आविष्कार, स्मार्ट प्रविधिको प्रयोग र अन्तराष्र्टि«य सहकार्यको खाँचोमा जोड दिएका थिए ।
सम्मेलनमा विशिष्ट अतिथिका रूपमा विश्वभरका अनुभवी इन्जिनियरिङ अधिकारी तथा अगुवाहरूको उपस्थिति रहेको थियो। विशेषगरी न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ डिजाइन एन्ड कन्स्ट्रक्सनका एसोसिएट कमिश्नर सुभाष तुलाधर, डा. हरि दर्लामी, इन्जिनियर सुबोध तिमिल्सिना, र उद्यमशीलता क्षेत्रमा अग्रणी रुद्र पाण्डेले सहभागीहरूलाई पूर्वाधार, सार्वजनिक सेवा, नवप्रवर्तन र उद्यमशीलताको महत्वबारे धारणा राखेको थिए । बाढी सुरक्षा प्रणालीको बारेमा डा. सुक गुरुङले बोलेका थिए।
एन्टरप्रेनर एण्ड इन्नोभेसन सम्बन्धी प्यानल त्रिबल नहर्की र शुभा अधिकारीले सञ्चालन गरेका थिए । प्यानलमा न्युरल एआईका संस्थापक तथा अध्यक्ष नबिन बाँस्कोटा, चिकित्सक, समाजसेवी, तथा Infra Investment USA\ Fund का डा. मदन उप्रेती र नेपाल अमेरिकन कम्युनिटी सेन्टरका अध्यक्ष तथा United Aero Solutions का सिइओ दिनेश खतिवडा र एसोसिएट भाइस प्रेसिडेन्ट, रिसर्च, क्यालिफोर्निया स्टेट युनिभर्सिटीका डा. विनोद तिवारी सहभागी थिए । प्यानलमा उद्यमशीलता उत्प्रेरणा, विश्वस्तरमा विस्तारका चुनौती, नयाँ आविष्कार नेतृत्व, र समुदायमा दीर्घकालीन प्रभावबारे चर्चा गरिएको थियो। वक्ताहरूले आफ्ना जीवनका निर्णायक मोड, जोखिम बहन गर्ने रणनीति र संस्कृतिसँग मेल खाने नेतृत्वबारे विचार राखेका थिए ।
वक्ताहरुले युवा इन्जिनियरहरूलाई निरन्तर अध्ययन, दृष्टिकोण निर्माण र धैर्य रहनको लागि सल्लाह दिएका थिए ।
प्राविधिक सत्रहरूमा विपद् व्यवस्थापन, कृत्रिम बुद्धिमत्ता र स्मार्ट पूर्वाधार, र नवीकरणीय ऊर्जा लगायतका विषयमा छलफल गरिएको थियो ।
वक्ताहरुले प्रविधिमा आधारित विकासतर्फ व्यावहारिक दृष्टिकोण प्रस्तुत गरेका थिए। कार्यक्रमको उद्देश्य नेपाललाई विश्वव्यापी नवप्रवर्तन सञ्जालसँग जोड्ने र इन्जिनियरिङ, उद्यमशीलता तथा प्रविधिलाई मातृभूमि र प्रवासबीच पुलको रूपमा काम गर्ने धारणा प्रस्तुत गरिएको थियो।
सम्मेलनले (ASNEngr) को १८ वर्षे योगदानको उत्सव मात्र मनाउँनुका साथै नेपाल तथा विश्वभरमा संस्थाको प्रभावलाई सुदृढ बनाउँदै थप सकारात्मक परिवर्तनको लागि काम गर्ने निर्णय गरेको छ ।
सम्मेलनमा अमेरिका, क्यानडा, बेलायत र नेपालका करिब २ सय नेपालीमूलका इन्जिनियर, सूचना प्रविधि विज्ञ, वैज्ञानिक, प्राध्यापक तथा विद्यार्थीहरू सहभागी थिए । सम्मेलनले समतामुलक इन्जिनियरिङ, उद्यमशीलता र उदाउँदो प्रविधिमार्फत भविष्यको निर्माणलाई जोड दिइएको थियो ।
नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा स्थानीय संयोजक नारायण बराल, सम्मेलन संयोजक रञ्जन पोखरेलले मन्तव्य राखेका थिए । (ASNEngr) का अध्यक्ष मंगल महर्जनले संस्थाको गतिविधि र उपलब्धिहरू प्रस्तुत गरेका थिए । प्राविधिक संयोजक सुर्य लम्सालले प्राविधिक सत्रबारे जानकारी दिएका थिए ।
कार्यक्रम अन्त्यमा नेटवर्किङ डिनर, सांस्कृतिक प्रस्तुतिसँगै डीजे नाइटमा सहभागीहरूले पेशागत सम्बन्ध विस्तार गर्ने अवसर पाएका थिए ।







प्रतिक्रिया