न्यूयोर्क । एनआरएनए अमेरिकाका दुई समुहवीच एकता भएको छ । एनआरएनए अन्तराष्ट्रिय समितिमा आएको विवाद र फुटसंगै अमेरिकामा पनि डा. अर्जुन बन्जाडे र सूर्य लम्साल अध्यक्ष रहेको छुट्टाछुट्टै दुईवटा राष्ट्रिय समिति गठन भएका थिए ।
हालै सर्वोच्च अदालतको परमादेश अनुसार भएको महाधिवेशनबाट निर्वाचित एनआरएनए अन्तराष्ट्रिय समितिका अध्यक्ष महेश कुमार श्रेष्ठको पहलमा दुई समूहवीच एकता भएको दुवै समुहका पदाधिकारीहरुले जानकारी दिएका छन् । बाल्टीमोरमा शुक्रबार दुवै समूहवीच भएको छलफलका क्रममा एकताको सहमति भएको अर्जुन बन्जाडे समूहका महासचिव रामहरी अधिकारीले जानकारी दिए । एकतापछि दुवै समूहको सहमतिमा आगमी महाधिवेशन गर्ने सहमति समेत भएको छ ।
न्यूयोर्कको ज्याकसन हाइटमा सूर्य लम्साल नेतृत्वको एनआरएनए राष्ट्रिय समितिले शनिबार आयोजना गरेको एक कार्यक्रममा एकता बारेमा औपचारिक जानकरी दिएको हो । कार्यक्रममा अध्यक्ष लम्सालले तत्कालीन अवस्थामा आफु संस्था फुटाउनु पर्छ भन्ने पक्षमा नभएपनि विभिन्न परिस्थितिका कारण संस्था फुटाउनु पर्ने अवस्था आएको र अहिले एकता हुँदा खुशी लागेको बताए । “बाल्टिमोरमा हिजो भएको छलफलपछि एकताको सहमतिमा हस्ताक्षेर भएको छ, अब दुवै समूह मिलेर अधिवेशन गर्छाैं” अध्यक्ष लम्सालले भने । एनआरएनए विभाजित हुँदा अभियान र मुद्दाहरु कमजोर बनेको उल्लेख गर्दै अब जुधेर हैन मिलेर अघि बढ्नुको विकल्प नभएको लम्सालले बताए । “अमेरिकामा मात्र हैन विवाद रहेका हरेक देशहरुमा एकता हुन जरुरी छ ।
बन्जाडे समूहको राष्ट्रिय समितिका महासचिव अधिकारीले एकता घोषणाको आपचारिक प्रक्रिया बाँकी रहेपनि एकताको सैदान्तिक सहमति भएको जानकारी दिए । दुईवटै समिति अब एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै महासचिव अधिकारीले राष्ट्रिय समितिलाई कसैले कमजोर बनाउन नहुने बताए । राष्ट्रिय समितिमा विवाद आउनुको मूल कारण अन्तराष्ट्रिय समिति भएको चर्चा गर्दै आइसीसीको विवाद तत्काल मिलाउनु पर्ने बताए ।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष महेश कुमार श्रेष्ठले एकताको लागि तयार भएका दुबै समितिका अध्यक्षहरु अर्जुन बन्जाडे र सूर्य लम्साललाई धन्यवाद दिदै अमेरिकामा भएको एकताले विश्वका अन्य मुलुकहरुमा रहेको विभाजित समितिहरुलाई पनि एकताको लागि सन्देश जाने बताए । “अमेरिकामा भएको एकताको मोडलबाट अन्य देशहरुमा पनि एकताको लागि सन्देश जानेछ, एकताको शुरुवात भएको छ, यो साकारात्मक छ,”अध्यक्ष श्रेष्ठले भने ।





प्रतिक्रिया