०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

नेपालीको टीपीएस खारेज

नेपालीको टीपीएस खारेज

न्यु योर्क। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले नेपालीहरूको टेम्पोररी स्टाटस (टीपीएस) खारेज गरेको छ। डीएचएसले शुक्रबार नेपालका लागि प्रदान गरिदै आएको टीपीएस खारेज भएको सूचना जारी गरेको हो।

डीएचएसको नेपालका लागि टीपीएस खारेज गर्ने निर्णयसँगै देश नछाड्ने टीपीएसबाहक नेपालीहरू डिपोर्टेसनको जोखिममा परेका छन्। डीएचएस सेक्रेटरी क्रिष्टी नमले नेपालको अवस्थामा सुधार आइसकेको ठहर गर्दै टीपीएस खारेज गर्ने निर्णय गरेकी हुन्। २०१५ मा महाभुकम्प गएपछि अमेरिकाले नेपाललाई टीपीएस प्रदान गरेको हो। विभिन्न पटक थपिँदै आएको टिपिएस अवधि बिहीबार सकिएको हो। नेसनल टीपीएस अलायन्स (एनटीपीएसए) का अनुसार अमेरिकामा करिब आठ हजार टीपीएसबाहक छन्।

यसैबीच युनाइटेड फर टिपिएस नेपाल र नेश्नल टिपिएस अलान्यसले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै नेपालका लागि प्रदान गरिएको टिपिएस खारेजीले हजारौंको जीवनलाई अस्थिर बनाउने र अनिश्चितताप्रति गम्भिर चिन्ता व्यक्त गरेको छ।   

टीपीएस खारेजसँगै उनीहरूको श्रम स्वीकृति पनि समाप्त भएको छ। यससँगै उनीहरु अमेरिमा वैधानिक रुपमा काम गर्न नपाउने भएका छन्। 

‘नेपाली टीपीएसधारीहरू अन्य धेरै देशका हजारौँ आप्रवासीहरूसँगै वर्षौंदेखि अमेरिकामा बसेका छन्, मेहनत गरेका छन् र यहीँ आफ्नो जीवन र भविष्य निर्माण गरेका छन्,’ युनाइटेड फर टीपीएस नेपाल (युटीपीएसएन) कोर्डिनेशन कमिटीका रविन श्रेष्ठले भने। 

‘उनीहरू (टीपीएसबाहक) ले हाम्रो समुदायमा योगदान पुर्‍याएका छन्। आफ्ना परिवारको सहारा बनेका छन्। र, हाम्रो राष्ट्रको बनावटलाई मजबुत बनाएका छन्,’ एनटीपीएसएका नेशनल कोअर्डिनेटर होसे​​​​​​​ पाल्माले थपे, ‘भेनेजुएलाको टीपीएससम्बन्धी मुद्दामा सर्वोच्च अदालतले स्टे अर्डर दिएपछि टीपीएसको भविष्यबारे थप अन्योल उत्पन्न भएको छ। जब राजनीतिक र कानुनी असरहरू विस्तारै देखा पर्छन्, टीपीएसधारीहरूको वास्तविक जीवनमा पर्ने प्रभाव भने तत्काल र गम्भीर छ।’ युटीपीएसएन कोअर्डिनेशन कमिटीकी वानी साम्बाहाम्फेले टिपिएस खारेजी कानूनी वा नीतिगत मुद्दामात्र नभएर मानवअधिकारको मुद्धा भएको बताइन्।

प्रतिक्रिया