न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई सामूहिक रुपमा देश निकाला गर्न दुई सय २७ वर्ष पुरानो युद्धकालीन कानून ब्युँत्याउने तयारी गरेका छन्।
सीएनएनले जनाए अनुसार १७९८ मा सक्रिय द एलियन इनिमिज एक्ट नामक उक्त कानून छिटोमा शुक्रबार ब्युँत्याउने र कार्यान्वयनमा ल्याउने तयारी छ। यो कानून व्युँतिए ट्रम्प प्रशासनलाई आप्रवासीमाथि धावा बोल्न र धेरैलाई ग्वान्टानामो बेको बन्दिगृहमा राख्न सजिलो हुनेछ। ग्वान्टानामो बेको बन्दीगृह संसारको सबैभन्दा खराब मानिन्छ।
यो कानूनले राष्ट्रपतिलाई १४ वर्ष र सोभन्दा माथिका गैर अमेरिकी नागरिकलाई अमेरिकामाथि ‘हमला वा हिंस्रक आक्रमण’ को अभियोगमा गिरफ्तार गर्ने, थुनामा राख्ने र देश निकाला गर्ने असाधारण अधिकार दिन्छ। द एलियन इनिमिज एक्टनामक यो कानून कार्यान्वयनमा आए कागजात नभएका आप्रवासीले अदालती प्रक्रियामा सहभागी हुन वा असाइलमको अन्तर्वार्ता दिन पाउने छैनन्। सङ्कटकालीन युद्ध कानून भएकाले यो कानून कार्यान्वयनमा आएपछि ट्रम्प प्रशासनको गिरफ्तारीमा पर्ने आप्रवासीलाई आप्रवासन सम्बन्धी कानून अनुसार व्यवहार गरिने छैन।
यो कानून दोस्रो विश्व युद्धका बेला पनि ब्युँत्याइएको थियो। त्यतिबेला यो कानूनको सहायतामा इटाली, जापान र जर्मनका आप्रवासीलाई निगरानीमा राख्न र आवश्यक परे थुनामा राख्न उक्त कानून ब्युँत्याइएको थियो।





प्रतिक्रिया