न्यू योर्क। इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले न्यू योर्क सहित अमेरिकाका विभिन्न राज्यबाट पाँच सय ३८ जना गिरफ्तार गरेको छ। त्यसमध्ये ती सय ७३ जनालाई सोधपुछका लागि हिरासतमा राखेको छ।
आइसले आधिकारिक सामाजिक सञ्जाल एक्स मार्फत गिरफ्तारी र हिरासतमा लिइएकाको तथ्याङ्क सार्वजनिक गरेको छ। त्यस अनुसार जनवरी २३, २०२५ सम्म ती गिरफ्तारी गरिएको हो। ती गिरफ्तारी न्यू योर्क र न्यू जर्सीका ‘स्याङ्चुअरी सिटी’ हरूमा समेत भएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्। गिरफ्तारीमा परेका झण्डै पाँच सय मानिसहरू कागजातविहीन रहेको ती सञ्चारमाध्यमको दावी छ।
न्यू योर्कबाट गिरफ्तारीमा पर्नेमा एकजना एल साल्भाडोरका यौन अपराधका दोषी र अर्का होन्डुरसका मदिरा सेवन गरेर सवारी चलाउने व्यक्ति परेको जनाइएको छ। मदिरा सेवन गरेर सवारी साधन चलाउनु अमेरिकामा अपराध मानिन्छ।
त्यस्तै, आइसले न्यू जर्सीको नेवार्कमा एउटा पसलमा छापा हानी कागजात विहीन सहित सिटिजनलाई समेत गिरफ्तार गरेको छ। जनवरी २३ मा भएको उक्त गिरफ्तारीमा तीन जना परेका थिए। त्यसमध्ये एकजना अमेरिकी सेनाका भेट्रान समेत थिए।
आइसले बिना वारेन्ट छापा हानेको भन्दै नेवार्कका मेयर रास बाराकाले विज्ञप्ति जारी गरेर विरोध गरेका छन्। ‘वारेन्ट नदेखाई अमेरिकी नागरिक र सेनाका भेट्रान समेत गिरफ्तारी गरिनुले उनीहरु अपमानित भएका छन्। यसरी गिरफ्तार गर्नु असंवैधानिक छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘सर्वसाधारण आतङ्कित भएका छन्। नेवार्क सहेर बस्दैन।’
आइससँग सामना भए के गर्ने? नो यार राइट्स (भिडियो):







प्रतिक्रिया