न्यू योर्क सिटी। न्यू योर्क सिटी स्मल बिजिनेस सर्भिसेज (एसबिएस) ले फेडेरल गभर्मेन्टले द कर्पोरेट ट्रान्सपरेन्सी एक्ट (सिटिए) कार्यान्वयनयता ल्याएको उल्लेख गर्दै डिसेम्बर ३१ भित्र आफ्नो व्यवसायको आर्थिक विवरण पेश नगरे दैनिक ५०० डलर जरिवाना लाग्ने जनाएको छ।
ग्रेटर न्यू योर्क नेपाली चेम्बर अफ कमर्ससँग संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा एसबिएसका एक अधिकारीले उक्त कुरा बताएका हुन्। नेपाली उद्यमी व्यवसायीका लागि नोभेम्बर २१ मा आयोजित उक्त कार्यक्रममा एसबिएस कम्युनिटी आउटरिच असिस्टेन्ट डाइरेक्टर मेहेदी हसनले सिटिएको प्रावधान र चर्को जरिवाना बारे नेपाली उद्यमी व्यवसायीलाई सतर्क रहन समेत सुझाए।

‘फेडेरल गभर्मेन्टले कर्पोरेट ट्रान्सपरेन्सी एक्टका रुपमा नयाँ कुरा ल्याएको जस अन्तर्गत आफ्नो व्यवसायमा भएका आर्थिक गतिविधि देखाउनु पर्छ। डिसेम्बर ३१ भित्र यस्तो विवरण फाइल गरिसक्नु पर्छ,’ उनले भने, ‘नगरे दैनिक ५०० डलर जरिवाना तिर्नुपर्छ।’ उनले आफ्नो व्यवसायको विवरण सजिलै अनलाइन फाइल गर्न सकिने जानकारी पनि दिए। ‘फाइल गर्न धेरै सजिलो छ, १० मिनेट भए पुग्छ,’ उनले भने, ‘तर, सबै व्यवसायले यस्तो विवरण फाइल गर्नु पर्दैन। कसले फाइल गर्नुपर्छ कसले पर्दैन भनेर हामी फ्री वेबिनार गर्दैछौ।’ उनले त्यसका लागि आफ्नो स्पट सुरक्षित गर्न आफ्नो व्यवसाय अनलाइन रजिस्टर गर्नुपर्ने बताए।
कङ्ग्रेसले २०२१ मा पारित गरेको यो कानून २०२४ जनवरीदेखि कार्यान्वयनमा आएको हो। आर्थिक अपराध रोक्न लक्षित यो कानून अनुसार उद्यमी व्यवसायीहरूले डिपार्टमेन्ट अफ ट्रेजरीज फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्कलाई डिसेम्बर ३१, २०२४ भित्र आफ्नो व्यवसायको ‘बेनेफिसियल अनरसिप इन्फरमेसन’ बुझाउनु पर्छ। नबुझाए दैनिक ५०० डलर जरिवाना लाग्छ। ‘कुन व्यवसायले यस्तो रिपोर्ट बुझाउनु पर्छ र कुन व्यवसायले पर्दैन भन्ने जानकारी हामी वेविनारमार्फत दिन्छौं,’ असिस्टेन्ट डाइरेक्टर हसनले भने।

एसबिएसले व्यवसाय सञ्चालनसम्बन्धी सम्पूर्ण सेवा दिने
असिस्टेन्ट डाइरेक्टर हसनले एसबिएसले साना व्यवसाय सञ्चालन सम्बन्धी सम्पूर्ण सेवा दिने बताए। उनका अनुसार एसबिएसले उपलब्ध गराउने सेवामा सरकारी ऋण, कानूनी सेवा, परमिट तथा लाइसेन्स, प्रशिक्षण, प्रमाणपत्र देखि क्षति र जरिवानाबाट जोगिने विधिसम्म छन्। एसबिएसले यी सेवा निःशुल्क प्रदान गर्छ। अङ्ग्रेजी नजान्नेका लागि नेपाली भाषा अनुवादकबाट जानकारी दिने हसनको भनाइ छ।
‘व्यवसाय सञ्चालनका लागि ब्याङ्कबाट ऋण पाउन झन्झटिलो र गाह्रो हुने भएकाले एसबिएसले गभर्मेन्ट लोन उपलब्ध गराउँछ,’ हसनले भने, ‘हामी ४० भन्दा बढी साना लगानीकर्तासँग साझेदार छौं जसले तपाईँको व्यवसायलाई ऋण उपलब्ध गराउन सहयोग गर्छ।’ उनले लगानी र आर्थिक विषयमा एसबिएसले चाहेजति निःशुल्क परामर्श दिने पनि बताए।
त्यस्तै एसबिएस अन्तर्गतको न्यू योर्क सिटी बिजनेस एक्सप्रेस सर्भिस टिम (बेस्ट) ले व्यवसायीले पालना गर्नुपर्ने नियम र मापदण्डबारे सिकाउने जानकारी पनि उनले दिए। ‘ती नियम र मापदण्ड पालना नगरे जरिवाना हुन्छ,’ उनले भने। उनले कुन व्यवसाय खोल्न कस्तो लाइसेन्स र परमिट लिने, कुन प्रकारको ‘भायोलेसन’ भए सामना कसरि गर्ने तथा नयाँ लिज सम्झौता गर्न, भइरहेको लिज संशोधन गर्न, र लिज नविकरण गर्न पनि निःशुल्क कानूनी सहायता प्रदान गर्ने बताए।

उनले नेपाली व्यवसायीलाई खासगरि माइनोरिटी अर वुमन बिजिनेस इन्टप्राइज (एमडब्लुबिइ) सर्टिफिकेसनको फाइदा लिन आग्रह गरे। ‘यो निःशुल्क प्रमाणपत्र लिए रेस्टुरेन्ट, कन्स्ट्रक्सन लगायतका उद्यमीले सरकारी ठेक्का पाउन सक्छन्,’ उनले भने, ‘सिटिले एमडब्लुबिईका लागि ६० बिलियन डलर छुट्याएको छ जसमध्ये ३० प्रतिशत सरकारी ठेक्का एमडब्लुबिईबाट पुरा हुनुपर्छ। हामी तपाइँहरुलाई सरकारी ठेक्का लिनका लागि तयार पार्छौं।’ उनले सर्टिफिकेट लिने प्रक्रियामा निःशुल्क सहयोग गर्ने उल्लेख गर्दै यो शक्तिशाली साधनबाट फाइदा लिन नेपाली व्यवसायीलाई आग्रह गरे। साथै व्यवसाय सफलतापूर्वक सञ्चालन गर्न आवश्यक सबै खाले प्रशिक्षण पनि निःशुल्क रहेको उनको भनाइ थियो।
न्यू योर्क सिटी अफिस अफ नाइट लाइफ स्ट्रेटेजिक प्लानिङ एक्जेकेटिभ फ्रान्सेस्का मिर्राले बार व्यवसाय र रात्रिकालिन व्यवसायमा आइåपर्ने समस्या र रात्रिकालिन व्यवसायå≈ सञ्चालन गर्दा ध्यान पु¥याउनु पर्ने कुराहरुका बारेमा जानकारी दिइन्। चेम्बरका अध्यक्ष प्रदिप श्रेष्ठले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए।





प्रतिक्रिया