न्यू योर्क सिटी। भ्रष्टाचारको मुद्दा खेपिरहेका मेयर एरिक आडम्सले अदालत समक्ष छिटो सुनुवाइ (अर्लि ट्रायल) का लागि अनुरोध गरेका छन्। उनले चुनावी अभियानलाई कारण देखाउँदै छिटो सुनवाई सुरु गर्न लागि अनुरोध गरेका हुन्।
आडम्सका वकिल एलेक्स स्पिरोले उनको मुद्दा हेरिरहेका फेडेरल जजलाई सोमबार पत्र लेख्दै आडम्सको मुद्दामा छिटो सुनुवाइ सुरु गर्न अनुरोध गरेका हुन्। उनले सुनवाई अप्रिल १, २०२५ देखि सुरु गर्न आग्रह गरेका छन्। यसअघि अदालतले अप्रिल २३ देखि सुनुवाइ सुरु गर्ने निर्णय गरेको थियो।
आडम्सले अनुसन्धानकर्ताहरूलाई मोबाइल फोन दिनु अघि पासवर्ड परिवर्तन गरेका थिए। अनुसन्धानकर्ताहरूले पासवर्ड माग्दा आडम्सले ‘पासवर्ड बिर्सेको’ बताएका थिए।
पत्रमा ढिलो सुनुवाइ सुरु गर्दा आडम्स मेयर पदमा पुनः निर्वाचित हुनका लागि चुनावी अभियानमा पूर्ण रुपमा लाग्न नपाउने उल्लेख गरिएको छ। ‘सुनुवाइ छिटो भए मेयर एरिक आडम्स चुनवी अभियानमा पूर्ण रुपमा सरिक हुन पाउँछन् र उनीमाथि लागेको मुद्दा र अभियोगबारे मतदातामा छरिएको भ्रम चिर्न सकिन्छ,’ पत्रमा उल्लेख छ। मेयरको प्रारम्भिक प्राइमरी निर्वाचन जुन २०२५ मा हुँदैछ। आडम्सको मेयरको पदावधि डिसेम्बर २०२५ मा सकिँदैछ।
मेयर आडम्समाथि राजनीतिक स्वार्थका लागि टर्कीका अधिकारीहरूले दिएको विलासी ‘ट्राभल पर्क्स’ र गैरकानूनी चुनावी अभियान योगदान स्वीकारेको अभियोग छ। उनले अदालत समक्ष ती अभियोगमा आफू दोषी नरहेको दाबी गर्दै र पदमै बसेर कानूनी उपचार खोज्ने जनाएका छन्।
अभियोगकर्ताहरूले जुनसुकै बेला पनि सुनुवाइका लागि तयार रहेको जनाएका थिए। तर, उनीहरूले छानबिन पनि जारी रहेको र आडम्सको व्यक्तिगत मोइबाल फोन रेकर्ड हेरि नसकेको बताएका थिए। आडम्सले अनुसन्धानकर्ताहरूलाई मोबाइल फोन दिनु अघि पासवर्ड परिवर्तन गरेका थिए। अनुसन्धानकर्ताहरूले पासवर्ड माग्दा आडम्सले ‘पासवर्ड बिर्सेको’ बताएका थिए।
आडम्समाथि साउदर्न डिस्ट्रिक अफ न्यू योर्कका युनाइटेड स्टेट्स अटर्नी डेमियन विलियम्स, फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) न्यू योर्क फिल्ड अफिसका एसिस्टेन्ट डाइरेक्टर जेम्स इ. डेनेही र न्यू योर्क सिटी डिपार्टमेन्ट अफ इन्भेस्टिगेसनकी कमिसनर जोस्लिन इ. स्ट्रबरले भ्रष्टाचारको अभियोग दायर गरेका हुन्। राज्यका तीनै तह फेडेरल, स्टेट र सिटी स्तरका निकायबाट मुद्दा दायर भएकाले आडम्समाथि लगाइएको अभियोग सङ्गीन भएको बताइन्छ।






प्रतिक्रिया