०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

मेयर आडम्सका ५मध्ये ४ प्रस्तावमा बहुमत

न्यू योर्क सिटीको लोकतन्त्रमा पर्ने भन्दै सिटी काउन्सिल, सिनेटर, एसेम्ब्ली मेम्बर, वर्किङ फेमिलिज पार्टी र आप्रवासीसँग सम्बन्धित ५२ संस्थाले विरोध गरेका थिए।
मेयर आडम्सका ५मध्ये ४ प्रस्तावमा बहुमत

न्यू योर्क सिटी। मेयर एरिक आडम्सले न्यू योर्क सिटीको चार्टर (संविधान) परिवर्तन गर्न ल्याएका पाँच मध्ये चार प्रस्तावले बहुमत प्राप्त गरेका छन्। यससँगै सिटीको चार्टर संशोधन हुने पक्का भएको छ।

न्यू योर्क सिटीको लोकतन्त्रमा पर्ने भन्दै सिटी काउन्सिल, सिनेटर, एसेम्ब्ली मेम्बर, वर्किङ फेमिलिज पार्टी र आप्रवासीसँग सम्बन्धित ५२ संस्थाले मेयर आडम्सको प्रस्तावको विरोध गरेका थिए। त्यसका वावजुद प्रस्ताव नम्बर दुई, तीन, चार र पाँचले बहुमत पाएको हो।

मेयर आडम्सले चार्टर संशोधन गर्न बनाएको चार्टर रिभ्यू कमिसनले पाँच वटा प्रस्ताव तयार गरको थियो। न्यू योर्क सिटी काउन्सिलले कमिसनले तयार गरको पाँचवटा प्रस्ताव (प्रस्ताव २–६) राष्ट्रपतीय निर्वाचनको मतपत्रमा समावेश गरिएको थियो। विभेदबाट सुरक्षा प्रदान गर्ने र गर्भपतनको अधिकार दिने प्रस्ताव नम्बर १ न्यू योर्क राज्यका लागि थियो। उक्त प्रस्तावले पनि बहुमत प्राप्त गरेको छ। प्रस्ताव नम्वर २–६ मेयर आडम्सका हुन्।

इमिग्रेसन रिसर्च इनिसियटिभ (आइआरआई) ले सार्वजनिक गरेको अध्ययन अनुसार हाल न्यू योर्क सिटीमा २३ हजार सडक व्यापारी छन्। त्यसमध्ये ९६ प्रतिशत आप्रवासी छन् भने ७५ प्रतिशतले सडक व्यापार अनुमति पाएका छैनन्। अनुमति नपाएका ती सडक ब्यापारीबाट सिटीले चर्को जरिवाना असुल्दै आएको छ। चार्टर परिवर्तन भए थप सास्ती बेहोर्नुपर्ने भन्दै सडक ब्यापारी सम्बद्ध संस्थाहरुले मेयरको यो प्रस्तावको विरोध गरेका थिए।

सिटी काउन्सिलले मेयर आडम्सले पाँचवटा प्रस्ताव कानून बनाउने प्रक्रिया छलेर ल्याइएको भन्दै विरोध गरको थियो। ‘चार्टर रिभ्यू कमिसनले कानून बनाउने वर्तमान प्रक्रिया मिचेको छ,’ काउन्सिलको वेबसाइटमा उल्लेख छ, ‘मेयरको प्रस्ताव सार्वजनिक गरेको दुई दिनमै मतपत्रमा समावेश गरिएको छ।’

प्रक्रिया अनुसार चार्टर संशोधन गर्दा जनताको राय लिन २७१ दिनको समय दिनुपर्छ। काउन्सिलले मेयर आडम्सको हतारमा चालिएको यस्तो कदमले जनताप्रति सिटी सरकारको ‘संवेदनशीलता, पारदर्शिता र जवाफदेहिता’ मा गम्भीर असर पार्न सक्छ भनेको थियो।

मेयर आडम्सको प्रस्ताव विरुद्ध वर्किङ फेमिलिज पार्टी र आप्रवासीसँग सम्बन्धित ५२ संस्थाले गठबन्धन बनाएका थिए। उनीहरुलाई न्यू योर्क सिटीका सिनेटर र एसेम्बली मेम्बरहरुले साथ दिएका थिए। न्यू योर्क सिटी काउन्सिलले काउन्सिलको वेवसाइटबाटै ती प्रस्तावका विरोध गरेको थियो भने प्रचार प्रसार सामाग्री बनाएर बितरण गरेको थियो। काउन्सिलले मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको थियो। त्यसका वावजुद भ्रष्टाचारको मुद्धा खेपीरहेका आडम्सको प्रस्तावले चुनाव जितेको हो।

गठबन्धनमा रहेका संस्थाले मेयर आडम्सले देखावटी चार्टर कमिसन बनाएर शक्ति हत्याउन यी प्रस्ताव मतपत्रमा राखेको बताएका थिए। यसले न्यू योर्क सिटीको शक्ति पृथकिकरण र शक्ति सन्तुलन बिगारेर लोकतन्त्र खतरामा पार्ने उनीहरुको भनाइ थियो। साथै, उनीहरुले यी प्रस्ताव पारित भए सर्वसाधारणबाट शक्ति खोसिने र सिटीले उनीहरुलाई दिने सेवा र सहायता प्राप्त गर्न कठिन अबस्था सिर्जना गर्ने बताएका थिए। सिटी चार्टरले सिटी सरकार कसरि चल्नुपर्छ र सरकारको कुन कुन निकायसँग के के अधिकार र शक्ति रहनु पर्छ भन्ने निर्धारण गर्छ।

के छ मेयरको प्रस्तावमा?

प्रस्ताव नम्बर २ मा उल्लेख छ, ‘सार्वजनिक सम्पतिको सफाइः यो प्रस्तावले सडक तथा सिटीका अन्य सम्पति सफा गर्ने तथा फोहरलाई कन्टेनरमा व्यवस्थापन गर्ने डिपार्टमेन्ट अफ सेनिटेसनको अधिकारमा बिस्तार तथा प्रष्टता ल्याउन सिटी चार्टरमा संशोधन गर्छ।’’

उक्त प्रस्तावबारे सिटी काउन्सिलले भनेको थियो, ‘सडक व्यापारीमाथि कडाइ गर्छ, फोहोर फाल्ने भाँडो राख्ने स्थान तय गर्ने थप अधिकार दिन्छ र सरसफाइमा सर्वसाधारणको भूमिका बेवास्ता गर्छ।’ इमिग्रेसन रिसर्च इनिसियटिभ (आइआरआई) ले सार्वजनिक गरेको अध्ययन अनुसार हाल न्यू योर्क सिटीमा २३ हजार सडक व्यापारी छन्। त्यसमध्ये ९६ प्रतिशत आप्रवासी छन् भने ७५ प्रतिशतले सडक व्यापार अनुमति पाएका छैनन्। अनुमति नपाएका ती सडक ब्यापारीबाट सिटीले चर्को जरिवाना असुल्दै आएको छ। चार्टर परिवर्तन भए थप सास्ती बेहोर्नुपर्ने भन्दै सडक ब्यापारी सम्बद्ध संस्थाहरुले मेयरको यो प्रस्तावको विरोध गरेका थिए।

अधिकारवादी संघसंस्थाहरु यो प्रस्ताव भ्रमपूर्ण रहेको तथा सडक व्यापारी र अरु न्यू योर्कवासी माथिको अमानवीय आक्रमण भएको बताउँछन्। उनीहरु यो प्रस्तावले सहयोगको आवश्यकतामा रहेका सडक व्यापारी तथा न्यू योर्क सिटीवासीलाई अपराधीकरण गर्ने धारणा राख्छन्।

प्रस्ताव नम्बर ३ मा ‘प्रस्तावित कानूनको लागतको थप अनुमान र बजेट म्याद अद्यावधिकः यो प्रस्तावले कानूनको सुनुवाइ र मतदान अघि काउन्सिलबाट वित्तीय विश्लेषण अनिवार्य गर्न, मेयरबाट वित्तीय विश्लेषण स्वीकृत गर्न र बजेटको म्याद अद्यावधिक गर्न सिटी र्चाटरमा संशोधन गर्छ।’ सिटी काउन्सिलले यो प्रस्तावले काम गर्ने समय बढाएर कर्मचारीतन्त्रको आकार ठूलो बनाउने, करदातामा आर्थिक भार वृद्धि गर्ने, समस्या समाधान गर्ने क्षमता घटाउने र बजेट पारित गर्ने अन्तिम मिति (डेडलाइन) मा ढिलाइ गर्ने जनाएको थियो। ‘बजेटमा ढिलाइ भए सर्वसाधारण र निरीक्षण गर्ने निकायहरुले मेयरले प्रस्ताव गरेको बजेट (उदाहरणका लागि पुस्तकालयको बजेट कटौति) बारे समीक्षा गर्न कम समय पाउँछन्।’

गठबन्धनमा रहेका अधिकारवादी संघसंस्थाले यो प्रस्तावले मेयर र उनका सहयोगीहरुलाई मन नपर्ने कानून रोक्न र प्रभावित पार्न नयाँ बाटाहरु खोलिदिने बताएका थिए। निर्वाचनमा यो प्रस्तावले बहुमत पाए मेयर र उनका सहयोगीहरुले उनीहरुलाई मन नपर्ने चाइल्ड केयर तथा आवास सहायता (हाउजिङ एसिस्टेन्स) जस्ता लोकप्रिय कार्यक्रमको सार्वजनिक रुपमा विरोध नगरि कर्मचारीतन्त्र प्रयोग गरेर रोक्न सक्ने उनीहरुको भनाइ थियो।

प्रस्ताव नम्बर ४ मा उल्लेख छ, ‘सार्वजनिक कानूनमा मतदान गर्नु अघि थप सूचना र समयः यो प्रस्तावले प्रहरी (एनवाइपिडी), करेक्सन (डिपार्टमेन्ट अफ करेक्सन्स) र फायर डिपार्टमेन्टको सार्वजनिक सुरक्षा सञ्चालन सम्बन्धी कानूनमा सिटी काउन्सिलले मतदान गर्नु अघि अतिरिक्त सार्वजनिक सूचना र समयको व्यवस्था गर्छ।’ सिटी काउन्सिलले यो प्रस्तावले न्यू योर्कवासीको सार्वजनिक सुरक्षा सम्बन्धी कानून पारित गर्ने प्रक्रियामा अत्याधिक ब्युरोक्रेटिक झमेला र मेयरको हस्तक्षेप थप्ने जनाएको थियो। काउन्सिलले यो प्रस्तावले सार्वजनिक सुरक्षासम्बन्धी कानून पारित गर्न ढिलाइ गर्ने, जवाफदेहीता घटाउने र अत्यावश्यक काम रोक्ने वेबसाइटमा उल्लेख गरेको छ।

गठबन्धनमा रहेका संघ संस्थाले प्रहरीसँग सम्बन्धित यी निकायमा मात्र किन यस्तो प्रस्ताव गरिएको भन्दै मेयर आडम्सको नियतमाथि प्रश्न गरेका थिए। उनीहरुले यो प्रस्तावले सुरक्षासँग सम्बन्धित यी तीन निकायलाई पारदर्शी र जवाफदेही नबन्न विशेष अधिकार दिने भन्दै विरोध गरेका थिए।   

प्रस्ताव नम्बर ५ मा, ‘पूँजी योजनाः यो प्रस्तावले सिटी चार्टरमा संशोधन गरी सिटीका सुविधाहरुमा वार्षिक मुल्यांकन गर्नुपर्ने, ती सुविधाहरुले वाध्यकारी रुपमा पूँजी योजनाको जानकारी दिनुपर्ने र पुँजी योजना अद्यावधिक गर्नुपर्ने ब्यबस्था गर्छ,’ उल्लेख छ। सिटी काउन्सिलले मेयरको यो प्रस्तावलाई ‘अर्थहीन’ र ‘भ्रामक’ भनेको थियो।

मेयर आडम्सले उक्त प्रस्ताव सिटी कम्प्ट्रोलर (सहरको सबैभन्दा माथिल्लो आर्थिक कार्यकारी) को सिफारिसका आधारमा बनाइएको दावी गरेको थियो। त्यसपछि कम्प्ट्रोलरको कार्यालय त्यो दावी झुठो भएको र ‘एउटा अर्थहीन मापनलाई विश्वासनीयता दिलाउन प्रष्ट रुपमा गरिएको झुटो प्रयास’ भन्दै विज्ञप्ति जारी गरेको थियो। ‘यो प्रस्ताव कुनै पनि तरिकाबाट सिटीको पूँजी योजना प्रक्रिया सुधार गर्न असफल छ,’ कम्प्ट्रोलर कार्यालयको वेबसाइटमा उल्लेख छ।

प्रस्ताव नम्बर ६ मा उल्लेख छ, ‘अल्पसंख्यक र महिला स्वामित्वको उद्यम ब्यबसाय, फिल्म परमिट र आर्काइभ रिभ्यू बोर्डः यो प्रस्तावले सिटी चार्टरमा संशोधन गरि चिफ बिजिनेस डाइभर्सिटी अफिसर (सिबिडिओ) नियुक्त गर्नेछ, मेयरलाई फिल्म परमिट अनुमति दिने कार्यालय तोक्ने अधिकार दिनेछ र आर्काइभ बोर्डलाई एकत्रित गर्नेछ।’ मेयरको आडम्सको यो प्रस्तावलाई सिटी काउन्सिलले एक आपसमा असम्बन्धित विषयमा परिवर्तन गर्न खोजी अधिकार लिन खोजेको जनाएको थियो।

गठबन्धन संस्थाहरुले आपसमा कुनै सम्बन्ध नरहेको तीन वटा विषय÷संरचना जोडिएको र त्यसमध्ये एउटाले मात्र मेयरको कार्यालयको भूमिका धेरै उल्लेख गरेको जनाएको थियो। उनीहरुले यो प्रस्तावले अल्पसंख्यक तथा महिला स्वामित्वको उद्यम व्यवसायमा थप ठोस सहयोग नगरि परिवर्तनको भ्रम सिर्जना गरेको उल्लेख गरेका थिए। आडम्सको यो प्रस्ताव भने पराजित भएको छ।

प्रतिक्रिया