१० चैत २०८२, मङ्गलबार
Tue, Mar 24, 2026
SUBSCRIPTION

इतिहास बनाउन फेरी चुक्यो महिला फुटबल

कडा प्रतिस्पर्धा रहेको खेल ८० मिनेटसम्म १–१ गोलको बराबरीमा रहेकोमा ८१ औं मिनेटमा बंगलादेशकी खेलाडि रितुपोर्ना चक्माले उत्कृष्ट गोल गर्दा नेपाल बंगलादेशसंग २–१ ले पराजीत भएको हो ।
इतिहास बनाउन फेरी चुक्यो महिला फुटबल

काठमाडौ । अन्तिम १० मिनेट सम्हालिन नसक्दा नेपालले वुमन्स साफ च्याम्पियनसिप फुटबलमा इतिहास बनाउन चुकेको छ । काठमाडौको दशरथ रंगशालामा बुधबार बेलुका भएको प्रतियोगिताको फाइलनमा डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै उपाधि रक्षा गर्दा नेपाल इतिहास बनाउन चुकेको हो । 

कडा प्रतिस्पर्धा रहेको खेल ८० मिनेटसम्म १–१ गोलको बराबरीमा रहेकोमा ८१ औं मिनेटमा बंगलादेशकी खेलाडि रितुपोर्ना चक्माले उत्कृष्ट गोल गर्दा नेपाल बंगलादेशसंग २–१ ले पराजीत भएको हो । उत्कृष्ट प्रदर्शन गरेपनि साफ च्याम्पियनसिपको फाइनलमा पाँचपटक हारिसकेको नेपाली महिला टीमलाई यसपाली घरेलु मैदान र दर्शककावीच इतिहास रच्ने मौका थियो । सेमिफाइनलको सनसनीपूर्ण खेलमा सशक्त दाबेदार भारतलाई पराजीत गरी फाइनल प्रवेश गरेकोले नेपालले उपाधी चुम्ने आशा बढेको थियो । 

पहिलो हाफ गोलरहित बराबरीपछि ५२ औं मिनेटमा नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बंगलादेशकी मोनिका चक्माले पहिलो गोल गरिन् । ४ मिनेटपछि नै नेपालले बराबरी गोल फर्काएर खेललाई थप प्रतिस्पर्धात्मक बनाएको थियो । प्रिति राईको पासमा अमिशा कार्कीले बंगलादेशी गोलरक्षकलाई कुनै अवसर नदिई गोल गरिन् ।

पहिलो हाफमा बंगलादेशले सुरुमै मौका पाएको थियो । नेपाली डिफेन्डर गीता राना चिप्लिएको स्थितिमा सिर्जना भएको अवसरमा सविता खातुनको पोस्टमा लागेको थियो । यस्तै खेलको दसौं मिनेटमा नेपालका सावित्रा भण्डारीको पासलाई नियन्त्रण लिएर अमिशाले गरेको प्रहार पोस्टमा ठोकिएको थियो ।

दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक–एक प्रहार बारमा लागेको थियो । पहिलो हाफको सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पाएको थियो । १९ औं मिनेटमा नेपालकी अमिशा कार्कीले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार बारमा लागेर फर्कंदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो ।

३३ औं मिनेटमा बंगलादेशले बक्स नजिकै फ्रिकिक पाएको थियो । तर मोनिका चक्माको प्रहार पोष्टभन्दा बाहिर गयो । ६१ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बायाँ साइडबाट हानेको बल पोष्ट नजिकबाट बाहिर गएको थियो । खेलको अन्तिम सम्मपनि नेपाली खेलाडिहरुले खेललाई आफ्नो पक्षमा पार्ने प्रयास गरेपनि सफल हुन सकेन । 

खेल सकेलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरेका छन् । फाइनल खेल हेर्न रंगशाला पुगेका प्रधानमन्त्री ओलीले सामाजिक संजालबाट अब अर्काे खेल जित्ने गरी मेहनत गर्ने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका हुन् । 

तस्बीरः दिनेश भण्डारी/प्रधानमन्त्री सचिवालय

प्रतिक्रिया