काठमाडौँ । नेपाल संवत् समारोह समितिले नेपाल संवत्को दिनलाई नयाँ वर्षको रुपमा विदेशस्थित नेपाली नियोगहरुमा नेपाल डे मनाउने निर्णय गर्न सरकारसंग माग गरेको छ । ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समितिले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाउदै यस्तो माग गरेको हो ।
समारोह समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवत्लाई सरकारी कामकाजको प्रयोगमा ल्याउने बारेमा नेपाल सरकारले एकवर्षअघि मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गरे । उनले राष्ट्र बैँकबाट निष्कासन हुने नोटमा नेपाल संवतको पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरुमा नेपाल संवतको नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन माग गरे ।
यसैगरी राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवतको प्रयोगको अवस्थाबारे अनुगमनको व्यवस्था गर्न सुझाव दिए ।सरकारले २०६५ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

सो अबसरमा प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताए । ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताए । इन्द्रजात्रा पर्वमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
“राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वषौं लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ’’, ओलीले भने । प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवाधन तथा विशेष धूनहरु रहेको र यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा गरे ।
यस वर्षको नेपाल संवत् ११४५ यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्वाको प्रतिमामा माल्यार्पण र काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ । समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथ्यताका लागि निमन्त्रणा दिएको छ । सो अवसरमा पूर्वमन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, दिलीप महर्जन, अगुवाहरु हीतकरवीर सिंह कंसाकार, मल्ल के सुन्दर, प्रा नरेशमान बज्राचार्यलगायतको उपस्थिति थियो ।











प्रतिक्रिया