०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

न्यू योर्कमा टिकाको साइत १० बजेर १ मिनेटमा

पूर्व फर्केर टिका लगाउँदा चन्द्रमा दाहिने पर्छ
न्यू योर्कमा टिकाको साइत १० बजेर १ मिनेटमा

न्यू योर्क। हिन्दु धर्मावलम्बी नेपालीहरूको महान चाड बडा दसैँको टिकाको साइत शनिबार बिहान १०ः०१ बजे परेको छ।

रिजउडस्थित नेपाली मन्दिरका पण्डित दिपक खरालले न्यू योर्कमा टिकाको साइत बिहान १०ः०१ मा परेको बताए। ‘विजया दशमीको टिकाको शुभ साइत विहान १० बजेर एक मिनेटमा परेको छ,’ उनले भने, ‘तर, शनिबार दिनभरि नै टिका लगाउन सकिन्छ।’

टिकाका दिन रिजउडस्थित नेपाली मन्दिर बिहान ६ बजे खुल्नेछ। मन्दिरमा बिहान ७ बजेदेखि ९ बजेसम्म श्रद्धालुहरूका लागि जमरा वितरण गर्ने र टिका लगाउने कार्यक्रम राखिएको पण्डित खरालले बताए। शुभ साइतका बेला घरमै टिका लगाएर दशैं मनाइने भएकाले मन्दिरमा बिहान साढे ९ बजेदेखि ११ बजेसम्म जमरा वितरण गर्ने र टिका लगाउने कार्यक्रम हुँदैन। त्यसपछि भने मन्दिर खुला रहनेछ। 

यसपटक टिका लगाउँदा टिका ग्रहण गर्ने व्यक्ति पूर्व फर्किनु र टिका लगाइदिने व्यक्ति पश्चिम फर्किनु राम्रो हुन्छ। 

‘टिकाको साइतमा मकरको चन्द्रमा दक्षिणमा हुन्छ,’ पण्डित खरालले भने, ‘पूर्व फर्केर टिका लगाउँदा चन्द्रमा दाहिने पर्छ।’ चन्द्रमा दाहिने पारेर टिका लगाउनु हिन्दु धर्ममा शुभ मानिन्छ। मन्दिरमा शुक्रबार साँझ नवरात्री पूजाको कार्यक्रम छ। 

प्रतिक्रिया