काठमाडौ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका प्रमुख दलहरुले बाढी पहिरो पिडीतको उद्धार र राहातलाई प्रभावकारी बनाउन आग्रह गर्दै प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग प्रदन गरेका छन् ।
ती दलका प्रमुख नेताहरुले आइताबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पिडीतको उद्धारका लागि पार्टीको ध्याकनकर्षणपत्र प्रदान गर्दै आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे सुझावसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज रु ५० लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए । नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ ।
यस्तै प्रधानमन्त्री उद्धार कोषमा एमालेले पचास लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले)ले आइताबार ५० लाख हस्तान्तरण गर्दै उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन समेत आग्रह गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । एमालेले प्रधानमन्त्री राहत कोषमा पचास लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो । सो अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी थिए ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले सो ध्नानाकर्षण गराएको हो । नेता श्रेष्ठले पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिनुभयो । सो दलले विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले विपदका् न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने बताउनुभयो । सो अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरु सहभागी थिए ।

एकैदिन दश करोडबढी जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका आइतबार एकैदिनमा विभिन्न संघसंस्थाले दश करोडभन्दा बढी सहयोग रकम हस्तान्तरण गरेको छ । प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारी अनुसार आइताबार आइएइ ग्रुपबाट ५ करोड रुपैयाँ, नेपाल बैँक लिमिटेडबाट २ करोड रुपैयँ, निर्माण व्यवसायी विकास परिषदबाट १ करोड रुपैयाँ, एमालेबाट ५० लाख, नेपाली काँग्रेसबाट ५० लाख, नेपाल इन्स्योरेन्सबाट ५० लाख, एनएमबी बैँकबाट ५१ लाख, र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख रुपैयाँ गरी जम्मा १० करोड २६ लाख रुपैयाँ जम्मा भएको हो । सो कोषमा एक करोडा जम्मा गर्ने सरकारले निर्णय गर्दै सहयोग गर्न आह्वान गरेको थियो ।
तस्बिरहरुः प्रधानमन्त्री सचिवालय











प्रतिक्रिया