न्यू योर्क । न्यू योर्कको लङआइल्याण्डस्थित हेम्पस्टिड टाउनमा नेपालको राष्ट्रिय झण्डोत्तलन हुने भएको छ । हेम्पस्टिड टाउन बोर्डको मुख्य कार्यालयमा नेपालको राष्ट्रिय झण्डोत्तलन हुन लागेको हो ।
लङआइल्याण्डको नासा काउन्टिीस्थित हेम्पस्टिड टाउन बोर्डले लङआइल्याण्ड कोअर्डिनेसन कमिटी अफ नेपाली कम्युनिटिजको समन्वयमा नेपालको राष्ट्रिय झण्डोत्तलन गर्ने भएको हो। नेपालको संविधान दिवसको अवसरमा हुन लागेको नेपालको राष्ट्रिय झण्डोत्तोलन कार्यक्रममा सहभागी हुन हेम्पस्टिड टाउन बोर्डका प्रमुख डन क्लाभिनले नेपाली समुदायलाई आग्रह गरेका छन् ।
हेम्पस्टिड टाउन बोर्डसंग नेपाली समुदायका संघसंस्थाले गरेको समन्वय र सहकार्यपछि यो ऐतिहासिक कार्यक्रम गर्न सफल भएको कोअर्डिनेसन कमिटी अफ नेपाली कम्युनिटिजका अध्यक्ष बाबुराम शर्माले बताए । अध्यक्ष शर्माका अनुसार नेपालको राष्ट्रिय झण्डोत्तलन कार्यक्रममा नेपालबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको सहभागिता रहने छ। यसैगरी वाशिङ्टन डिसीस्थित नेपाली राजदूताबास, न्यू योर्कस्थित महाबाणिज्यदूताबास र राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि कार्यालयबाट समेत नेपालको राष्ट्रियझण्डोत्तलन कार्यक्रममा सहभागिता रहने अध्यक्ष शर्माले जानकारी दिए ।
न्यू योर्कको लङआइल्याण्डस्थित हेम्पस्डिट टाउन नेपाली समुदायको बाग्लो बस्ती रहेको क्षेत्र हो। हेम्पस्डिट टाउन र त्यस आसपासका टाउनहरुमा गरि झण्डै तीन हजारको संख्यामा नेपाली समुदायको बसोबास रहेको अनुमान छ । यो शहरमा विभिन्न नेपाली समुदायका संस्थाहरु क्रियाशील रहेका छन् भने नेपाली समुदायले आफ्नै साँस्कृतिक भवन निर्माण गर्ने तयारी समेत गरेका छन् ।





प्रतिक्रिया